काठमाडौं– परिच्छेद सेन निर्देशित चलचित्र ‘प्रेमगन्ज’को सम्पूर्ण छायांकन समाप्त भएको छ । गएको वैशाखदेखि सुरु भएको चलचित्रको छायांकन १ मंसिरमा समाप्त भएको निर्माण टिमले जानकारी दिएको छ । पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोस्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्थगित गरिएको थियो । कोरोना भाइरसको संक्रमण न्यून भएसँगै पुनः चलचित्रको छायांकनलाई निरन्तरता दिइएको थियो ।
देशको अर्थतन्त्र र चलचित्र क्षेत्रसमेत कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा नराम्ररी प्रभावित भयो । चलचित्र क्षेत्रको त झनै बिजोक भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए, सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर, ‘प्रेमगन्ज’ निर्माण युनिट भने यो अवधिमा पनि निर्धक्क चलचित्र निर्माणमा जुटिरहेको बताइएको छ । लकडाउनका कारण सबै प्राविधिक तथा कलाकार कामविहीन हुँदा पनि ‘प्रेमगन्ज’ टिमले भने अलिकति भए पनि राहत प्रदान गरेको निर्माण टिमको दाबी छ । यो दोस्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राविधिकमाथि दुई करोड लगानी गरेको बताइएको छ ।
छायांकनमा मात्रै रु. दुई करोड लगानी भएको चलचित्र ‘प्रेमगन्ज’को क्यामेरा रोल ७० दिन भएको थियो । चलचित्र काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्यांकन भएको छ । बेनिसा हमाल ,तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्रमार्फत राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन् । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । चलचित्रको छिट्टै नै प्रदर्शन मिति घोषणा हुँदैछ ।