काठमाडौं– आगामी २ पुसमार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । सफल नेपाली फिल्म ‘चपली हाइट’को सिक्वेलको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । २ मिनेट ३६ सेकेण्डको ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।
अर्ज‘न कुमारको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । डिपी खनालको शब्द रचना, सुभाष भुषाल र अर्ज‘न कुमारको संगीत, अष्ट महर्जनको द्वन्द्व निर्देशक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, दिर्घ खड्काको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘चपली हाइट ३’ क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो । अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक आफूले फरक जनराको फिल्ममा काम गरेकाले नयाँ अनुभूति भएको बताइन् ।
यसैबीच ‘चपली हाइट ३’ की मुख्य अभिनत्री स्वस्तिमा खड्काले कलकारको स्टारडमले फिल्म चल्नेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् । उनको फिल्म ‘चपली हाइट ३’ हेर्न दर्शकलाई सिनेमा हलसम्म तान्न सक्ने विश्लेषण पनि कतिपयले गरिरहेका बेला उनले भने कलाकारको स्टारडमले फिल्म चल्छ भन्ने आफूलाई नलागेको प्रतिक्रिया दिएकी हुन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘फिल्म चल्यो भने म खत्रा वा ‘चपली हाइट’ चल्यो भने ब्रान्ड खत्रा भन्ने हुँदैन । फिल्म चल्नका लागि फिल्म आफँैमा राम्रो हुनुपर्छ ।’
हिट फिल्मको सिक्वेल भए पनि फिल्म राम्रो बनेको छैन भने नचल्ने उनको तर्क छ । महामारी सामान्य भएर लकडाउन खुलेपछि ‘चपली हाइट ३’ रिलिज गर्ने रिक्स लिएको बताउँदै उनले फिल्म राम्रो बनेकाले दर्शकहरूलाई मनपर्ने बताइन् । फिल्म रिलिजको बेला कलाकारले प्रेसर लिन नहुने पनि उनी बताउँछिन् । आफूले फिल्म रिलिजको बेला कहिल्यै प्रेसर नलिएको उनको भनाइ छ ।