
काठमाडौं– अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा शनिबारदेखि क्रमिकरूपमा सुधार आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता मौसममा आएको परिवर्तन विस्तारै सुधार हुँदै गएको हो । अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा एक्कासी परिवर्तन आउनुका साथै तापक्रम औसतभन्दा कम भएको थियो ।
मुलुकभर पछिल्लो केही दिनयता एक्कासी चिसो बढेर गएको छ । हिँउद याम सुरु हुँदै गर्दा चिसो बढ्नु सामान्य भए पनि एक्कासी मुलुकभरको तापक्रम कम भएको हो । जसले गर्दा सर्वसाधरणको दैनिकी असहज भएको थियो । मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदै गर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासी चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।
अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा.इन्दिरा कँडेलले बताएकी छन् । योबीचको समयमा कुनै दिन काठमाडौँमा दुई डिग्रीसम्मै तापक्रम घटेको छ । नोभेम्बर लागेपछि काठमाडौँमा न्यूनतम तापक्रम पनि घटेको उनले बताइन् । विराटनगर, धनकुटा, धरान ओखलढुङ्गा, जिरीमा न्यूनतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिनमा र न्यूनतम तापक्रम रातमा मापन हुन्छ ।
औषतभन्दा तापक्रम घट्ने क्रम काठमाडौं उपत्यकामा गएको अक्टोबर तेस्रो हप्तादेखि नै सुरु भएको हो । मुख्यतः उपत्यकामा भने २६ अक्टोबरबाट अधिकतम तापक्रम औषतभन्दा कम देखिँदै आएको छ । पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औषतभन्दा कम देखिन थालेको वरिष्ठ मौसमविद् डा. कँडेलले बताइन् । हाल पोष्ट मनसुनकै समयमा चलिरहेकाले जाडोयामको आँकलन आउन बाँकी नै छ । आइतबारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ ।
विभागका अनुसार २ अक्टोबर (९ कात्तिक) पछि भने क्रमशः अधिकतम तापक्रम औषतभन्दा कम देखिँदै आएको छ । उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव ९ थियो । गत वर्ष औषतभन्दा बढी २७ दशमलव २ भएकोमा यसपालि अधिकतम तापक्रम घटेर २५ दशमलव ५ मा झ¥यो । काठमाडौंमा ५ नोभेम्बरमा सरदरभन्दा दुई डिग्री कम तापक्रम मापन गरिएको थियो । प्राप्त विवरणअनुसार उक्त दिन औषत अधिकतम तापक्रम २५ दशमलव २ हुनुपर्नेमा घटेर २२ दशमलव ९ मा झरेको थियो । जबकी अघिल्लो वर्ष सोही दिन २५ डिग्री तापक्रम थियो ।
शनिबारदेखि मौसममा सुधार आए पनि अरब सागरको न्यून चापीय क्षेत्रको प्रभाव आंशिक रूपमा कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महशुस गरिएको थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम तापक्रम १९ दशमलव ५ र न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्रि सेल्सियस रहेको महाशाखाले जनाएको छ । यही २ मंसिरदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो ।
महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भाग आंशिकदेखि सामान्य बदली रहेको थियो । गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।