काठमाडौं– निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘घुइँचो’ निर्माणको औपचारिक घोषणा गरेका छन् । ‘छ माया छपक्कै’ का निर्देशक लामाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘घुइँचो’ निर्माणको घोषणा गरेका हुन् । होटल एभरेष्टमा औपचारिक घोषणा गरिएको फिल्ममा अभिनेत्री एलिजा गौतम र नव–नायक कुन्साङ बोम्जनको जोडी बाँधिएको जानकारी दिइएको छ । एक दर्जन बढी म्यूजिक भिडियोमा भने अभिनय गरिसकेका कुन्साङले यही फिल्मबाट नायकको रूपमा डेब्यू गर्नेछन् ।
आरजे म्यूजिक एन्ड फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा रामजी दैलेखी छन् । आउँदो माघबाट छायांकनमा निस्कने फिल्मका लागि अन्य कलाकारको भने टुंगो लागिसकेको छैन । निर्माता दैलेखीले केही दिनमा बाँकी कलाकार छनोट गरेर छायांकनमा निस्कनुभन्दा अगाडि वर्कसप हुने बताए । फिल्मको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ ।
अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले फिल्ममा काम गर्न तयार भएको बताएकी छन् । उनले भनिन्, ‘फिल्ममा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो फिल्म ‘अनुराग’ जे जस्तो भए पनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु ।’ उनले यस फिल्ममा आफूलाई दर्शकले फरक भूमिकामा देख्न पाउने बताइन् ।
त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताएका छन् । म्युजिक भिडियोमा चकलेटी अवतारमा रुचाइएका उनले यो फिल्ममा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् । निर्देशक लामाले फिल्म सुःख–दुःख, सपना, इमान्दार, बेइमानहरूको घुइँचो रहेको बताए । फिल्मले जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्ने उनले जानकारी दिएका छन् ।