काठमाडौं– निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर २’ को छायांकन सुरु गरेका छन् । कोरोना महामारीका कारण रोकिएको फिल्मको छायांकन गत बिहीबारबाट सुरु गरिएको हो ।
उक्त फिल्मको ४० प्रतिशत छायांकन निषेधाज्ञाअघि नै पूरा भइसकेको छ ।
निर्देशक चाम्सले बिहीबारबाट फिल्मको बाँकी छायांकन सुरु गरेका हुन् । बुधवार १ सय १७ जनाको टिम लिएर सिन्धुली पुगेका चाम्सले बिहीबार एक मन्दिरमा क्यामेरा पूरा गर्दै फिल्मको छायांकन थालेका हुन् । सिन्धुलीमा १८ दिन फिल्मको छायांकन हुनेछ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम दमौली जाने सेड्युल छ । नेपाल छायांकनपछि फिल्मलाई मलेशिया र युकेमा पनि खिचिने चाम्सले जानकारी दिएका छन् । फिल्मलाई दुईवटा रेड क्यामेराबाट खिचिनेछ ।
अनुमानित ३ करोडको बजेटमा निर्माण हुन लागेको फिल्मले गोर्खाली सेनाको वीरता र योगदानको कथा भन्नेछ । फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरूप घले लगायत मुख्य भूमिकामा छन् । सुदिप बरालले खिच्ने फिल्मको यस वर्ष छायांकन सकेर २०२२ मा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।
निर्देशक चाम्सले ‘गोर्खा वारियर’ को पहिलो पार्ट नबन्दै दोस्रो पार्ट निर्माण गर्न लागेका हुन् । दोस्रो पार्ट प्रदर्शनमा आएपछि पहिलो पार्ट निर्माण हुने उनको भनाइ छ । उनले बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महँगो मानिने रोयल अल्बर्ट हलमा १० हजार दर्शकको उपस्थितिमा फिल्मको रेड कार्पेट प्रिमियर गर्ने योजना बनाएका छन् । फिल्मका निर्माता पनि निर्देशक चाम्स स्वयं हुन् ।