काठमाडौं– कोरोना भाइरसको संक्रमण केही कम भएसँगै नेपाली निर्माताहरूले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्मातको झन् मनोबल बढेको छ ।
तिहारयता आधा दर्जन ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यसबीच, हरर जनराको फिल्म ‘कठपुतली’ ले पनि प्रदर्शन मिति तोकेको छ । अंग्रेजी नयाँ बर्ष (२०२२) को अवसर पारेर आउँदो १५ पुस (डिसेम्बर ३०) लाई निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले फिल्म बिहीबारबाटै प्रदर्शनमा आउनेछ । सार्वजनिक बिदामा फिल्म प्रदर्शन गर्न पाइने व्यवस्था छ । यसैले निर्माण टिमले तमु ल्होसारको सार्वजनिक विदालाई मध्यनजर गर्दै फिल्म प्रदर्शन गर्न लागेको हो ।
हालै मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्वपूर्ण अवार्ड जित्न सफल भएको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ । पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।
फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टुडियोमा भएको हो । सम्पदा मल्लले लेखेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर जनराका फिल्मभन्दा एकदमै भिन्न र स्तरीय रहेको निर्देशक लामाले दाबी छ । उने यस फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउने गरेका छन् ।