काठमाडौं– कोरोना भाइरसको महामारीका कारण प्रदर्शन हुन नसकेको नेपाली फिल्म ‘मन्त्र’ले प्रदर्शन मिति घोषणा गरेको छ । सोमबार फिल्म निर्माण टोलीले प्रदर्शन मितिसहित नयाँ पोष्टरसमेत सार्वजनिक गरेको छ । निर्माण टिमले आगामी २८ माघमा फिल्म ‘मन्त्र’ प्रदर्शनमा आउने जानकारी दिएको छ । सोमबार सार्वजनिक गरिएको फिल्मको नयाँ पोस्टरमा फिल्मका कलाकारहरू सौगात मल्ल, दिया पुन र बुद्दि तामाङ मात्र प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरूलाई भिन्न गेटअपमा देख्न सकिन्छ । खिल बहादुर गुरुङ फिल्मका निर्देशक हुन् । यस चलचित्रमार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् ।
गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको चलचित्रका दृश्यहरूले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुंगिन गुम्बालगायतका रमणीय दृश्यहरू कैद गरिएको छ । ‘मन्त्र’ एउटा अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले दाबी गरेका छन् । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन भएको फिल्ममा मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाइएको छ ।
यस फिल्ममा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टि शेर्पालगायतको पनि अभिनय छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी, साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । ‘मन्त्र’ लाई हिमालयन लभ स्टोरी भनिएको छ । अब फिल्मको प्रचार प्रसारलाई तीब्र बनाउँदै गीत तथा ट्रेलर केही दिनमा नै सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ ।