काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि आइतबार युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठलाई सदस्यसचिव नियुक्त गर्न सिफारिस गरेको थियो ।
माओवादी केन्द्रको बागमति प्रदेश कमिटीका सदस्य समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । रामेछापका घिसिङ एसियाली रग्बिको कार्यकारी बोर्ड सदस्य तथा एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुख हुन् ।
उनलाई सदस्यसचिव नियुक्त गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका थिए । यसअघिका सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको थियो। तत्कालिन प्रधानमन्त्री केपी ओलीका निकट सिलवाललाई सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बर्खास्त गरेको थियो ।