पिल्मो अर्थात् पिल्मोछा जाति नेपालमा बसोबास गर्ने एक आदिवासी जनजाति हो । यो समुदायको बसोबास विशेष गरेर प्रदेश नं. १ को सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २, पेल्माङ, वडा नं. ५, चोचालुङ र सोताङ गाउँपालिका वडा नं. ४, नाम्लुङ रहेको छ भने पिल्मो जातिको बसोबास भोजपुर, संखुवसभा, इलाम, सुनसरी, मोरङ, तेह्रथुम, झापा, खोटाङ, काठमाडौंलगायत भारतको सिक्किम, गान्तोक, दार्जिलिङ, कालिम्पोङ, गोरुबथान, जलपाइगुडी तथा विभिन्न देशहरूमा छरिएर बसेको पाइन्छ ।
पिल्मोहरूको मौलिक, सामाजिक, सांस्कृतिक, धार्मिक, विशेषता आदिवासी जनजातिलाई चिनाउने प्रमुख आधार हो । पिल्मो जातिको आफ्नै भूमि, भाषा, सांस्कृतिक, इतिहास र पहिचान भए तापनि अहिलेसम्म कसैले अध्ययन गरिएको पाइँदैन । केही व्यक्तिहरूले पिल्मो जातिहरूको बारेमा खोजी गरेर लेख लेखे तापनि खासै पिल्मो जातिको बारेमा भने एकिन गर्न सकेको छैन । कुनै जातिगत लेखकहरूले पिल्मो जातिको बारेमा लेख लेख्दा फरक–फरक धारणा राख्ने गरेकाले अस्पष्ट र अन्योल मात्र पैदा गराएको छ । न त पिल्मो जातिको बृहत अध्यायन भयो न त अरुले नै । पिल्मोलाई केही अध्यायनकर्ताहरूमध्ये कुलुङले कुलुङ जाति र नाछिरिङले नाछिरिङ जाति हो भनेर व्याख्या गर्ने गरेको पाइन्छ । यसमा पिल्मो जातिको अगुवाइ तथा अग्रजहरूको पनि चासो भने देखिँदैन । बरु उल्टै पिल्मो जातिको गहिरो इतिहासको खोजीनीति, अनुसन्धानबिना इतिहास आफूले सबै पढेको र बुझेको भन्दै कोही नाछिरिङ जातिको पछि र कोही कुलुङ जातिको पछि खुलेर लागेको मात्र देखिन्छ ।
यसरी खप्दुलुको इतिहास जाने बुझेका र पढेका अग्रजहरूसमेत पदीय लालचमा आफ्नो पहिचान हराउने पक्षमा लागिपरेको देखिन्छ । अहिलेसम्मको इतिहासलाई हेर्दा ‘कुलुङ’ र ‘नाछिरिङ’ जातिहरूको नेतृत्वसमेत पिल्मो जातिको खप्दुलु वंशका सन्तानहरूले नै गर्दै आएको देखिन्छ । तर, पिल्मो जातिको आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति, भूमि भएको जाति भए तापनि जातीय पहिचानको समस्या भएको छ । पिल्मो जातिको पहिचान खोज्न नसक्नु पिल्मो जातिकै कमजोरी भएको छ । यसरी ११औँ राष्ट्रिय जनगणना ०६८ सालको जनगणनामा पिल्मो जातिले जातिको महलमा कोहीले ‘कुलुङ’, ‘नाछिरिङ’ र ‘राई’ लेखेर आफ्नो अस्तित्व आफैँँले मेटाएका हुन् । आफ्नो सही पहिचान थाहा नहुनु, खोजीनीति गर्न मन नगर्नु, पुर्खाहरूको कुरा नसुन्नु, आफैँ पुर्खा हुन् खोज्नु, व्यक्तिगत स्वार्थका लागि अन्य जातिको पछि लाग्नु र समाजमा विभिन्न माध्यमबाट भ्रम सिर्जना गरी अन्य जातिहरूको वकालत गर्न माहिर हुनाले पिल्मो जातिको पहिचान खोज्न नसकिएको मुख्य समस्या देखिएको छ ।
१२औँ राष्ट्रिय जनगणनाको जनगणनाले जाति, धर्म, भाषा, आदिवासी जनजाति, अल्पसंख्यक जातिबारे एकिन गर्ने हुँदा अहिले आफ्नो धर्म, जाति, भाषाको विषयमा बहस सिर्जना भएको छ । नेपालमा ११औँ पटकसम्म जनगणना हुँदा समेत पिल्मो जातिको केही तथ्यांक नआउनु र पिल्मो जातिले त्यो सम्बन्धि चासो नराख्नु भनेको पिल्मो जातिले आफ्नो जाति थरमा सिमित पारेर अरु जातिसँग गाभिनु दुःखद् अनि दुर्भाग्य हो । यही कमजोरीलाई आधार मानेर पिल्मो जातिलाई ‘कुलुङ’ र ‘नाछिरिङ’ जातिहरूले आधा–आधा हिस्सामा बाँडफाँट नै गरेर पिल्मो जातिको अस्तित्व नै मेटाउने प्रपञ्च रचेको छ ।
यसरी १२औँ राष्ट्रिय जनगणनामा ‘कुलुङ’ जातिले पेल्माङ, नाम्लुङ र चोचालुङमा बसोबास गर्ने, इरिङ भाषा बोल्ने, खप्दुलका सन्तानहरू लोवात्ती, होनित्ती, रेम्निसिङ, थोम्रोस, सुर्बा, वाइसुर आदि कुलुङ नै हुन् । छाम्पानाम र खप्दुछेमका सन्तानहरूले पनि आफूलाई कुलुङकै वंशको रूपमा मान्दै कुलुङ भाषा बोल्ने, कुलुङ सस्कृति मान्दै आएको र पिल्मोङहरूले पुर्खा मानेका छाम्पानाम (पुरुष) र खप्दुछेम (महिला) का पुर्खाहरू क्रमशः खप्दुलु र खप दुवै किराती नै भएकाले सम्पूर्ण पिल्मोहरू कुलुङ नै हुन् भनी तथ्यहीन पिल्मो पुर्खाको चर्चा गरेको देखिन्छ । यो आधारले पनि पिल्मो जातिले आफ्नो अस्तित्व मेटाई अन्य जातिमा गाभिनु पर्ने र हुनै पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ । यसरी पिल्मो जातिलाई जोगाउनका लागि पिल्मो जाति एकजुट भई अगाडि लाग्नुबाहेक अन्य विकल्प भने छैन ।
पिल्मो जातिहरूले मान्ने किराती वंशभित्रको पुर्खा खप्दुलु, खप्दुलुको छोरा छाम्पानाम र छाम्पानामको श्रीमतीहरू खप्दुछेम बुसुमतोमा (जेठी) र राखालीमे रिदोतोमा (कान्छी) को इतिहास :
किरातका छोराहरू जेठो खम्बुहोङ, माहिला नेबाहाङ, साहिला मेत्नाहाङ, काहिला लाङलेवा र कान्छा मेरात्ती जन्मिए । यसरी किरातका छोराहरूको जन्मपछि मिनापोङ्खो हाल्कुम्बु तेल (ठाउँ) बाट सिकार खेल्दै—खेल्दै खुवोलु लाम्छाम्मा (बराहाक्षेत्र) आएका थिए । बराहाक्षेत्रबाट किरातका छोराहरू छुट्टिएर अलग–अलग बाटो लाग्दा खम्बुहोङ दूधकोसी खोला किनार लागे । नेवाहाङ अरुण खोला किनार लागे र उनका सन्तानहरू लोरोङ, याम्फु, आठपरिया, मेवाहाङ र याक्खा भए । याक्खाका छोरा देवान भए । मेत्नाहाङ तमोर खोलाकिनार लागे र उनका सन्तान लिम्बू भए । लाङलेवा सुनकोसी खोलाकिनार लागे र उनका सन्तान सुनुवार भए । मेरात्तीले बाटो भुलेर बराक्षेत्र वरिपरि अल्झिए र उनका सन्तानहरू कोच्या, मेच्या, धिमाल र नागा भए । यसरी खम्बुहोङ छट्टिएर बराहाक्षेत्रबाट सिकार खेल्दै दूधकोसी किनार हुँदै जाँदा वाबुखुङ (खोटाङ) पुगे । वाबुखुङ पुगेर बसेपछि खम्बुहोङका छोराहरू जेठा चाम्लिङ, माहिला बान्तावा, साइला तुम्सोलिङ, काइला दिस्मी र कान्छा साजिमी भए । यसै क्रममा खम्बुहोङका छोराहरू आफ्नो पुख्र्यौली भूमिमा बस्न केही हानथाप भयो । जसमा चाम्लिङले सोही पुख्र्यौली भूमिमा बस्न बाजी जितेपछि सम्पूर्ण खम्बुहोङका छोराहरू तितरबितर भएपछि एक भाइ मात्र वाबुखुङमा बसे र अरु दाजुभाइहरूले बसोबास खोज्दै जादा बान्तावा भोजपुर पुगे, तुम्सोलिङ र दिस्मी रावाखोलातिर गएर बसे ।
दिस्मीका छोराहरू जेठा माप्य (खालिङ), माइला खप (कुलुङ) र कान्छा योङलीहोङ जन्माए । खपले जेठो ताम्सी र कान्छा छेम्सी जन्माए । योङलीहोङले जेठा थुलुङ र कान्छा बाहिङ जन्माए । यसरी दिस्मीका सन्ताहरू रावाखोलाबाट दूधकोसी किनार हुँदै थुलुङ जाति कोही जुबु, नेचा, पञ्चन, तिङ्ला, देउसा, मुक्ली र कोही लोखिममा बस्न थाले । बाहिङ जाति कोही नेचा, सल्यान र कोही पञ्चनमा बसे । खालिङ जातिहरू कोही पावै, वाकु, काकु, बासा र कोही खरिखोलामा गएर बसे भने खप हुँगाखोलाको किनार हुँदै खपही आई बसे । खपले जेठा ताम्सी र कान्छा छेम्सी जन्मिए । पछि कान्छा छोरा छेम्सीले राताप्खुसँग भूमि साटेपछि छेम्सीमा बसे । ताम्सी छेस्काममा बस्न थाले ।
तुम्सोलीङले जेठा छोरा दुमी, माइला छोरा साम्पाङ र कान्छा छोरा नास्मी जन्माए । नास्मीले जेठा थुक्सी, माइला रोचो, साइला खेवाबु, काइला खप्दुलु र कान्छा राताप्खु जन्माए । सोही क्रममा खप्दुलुले दाजुभाइभित्र पर्ने साम्पाङको छोरी फालिकोट्ती साम्पाङ्नीसँग हाडफोरा बिहे गर्छ । त्यसपछि नास्मीका छोराहरू छुट्टिएर अलग–अलग बस्ने हुँदा थुक्सी खोटाङको राखा, रोचो बाङ्देल, खेवाबु पारा गएर बसे । त्यस्तै, खप्दुलु सोलुखुम्बुको पावै, सोताङ हुँदै पिल्मोङ गएर भुँवाखोलामाथि जंगलको पोरोखा ओढारमा आफ्नो अधिपत्य जमाएर बस्न थाले । राताप्खु सोलुखुम्बुको सोताङ आएर बसे । खप्दुलुका सन्तानहरू जेठा ताप्तीमुर, माइला काकानारीजन र कान्छा छाम्पानाम जन्मिए । तीन भाइ सन्तानहरू जन्माएपछि खप्दुलुको मृत्यु भयो ।
खप्दुलुको मृत्यपछि श्रीमती साम्पाङनीले नाबालक छोराहरूको पालनपोषण एकलै गर्न नसक्ने भएपछि आफ्नै माइतीघर तीन छोराहरू लिएर फर्किने निर्णय लियो (छोरीचेली समस्या पर्दा माइत फर्केने चलनको सुरुवात) । साम्पाङनीले आफ्नो नाबालक छोराहरू लिएर माइतीघर फर्किए । यसरी खप्दुलुको श्रीमती सम्पाङनी आफ्नो माइतीघर पुग्दा माइतीहरू अचम्मित भएर सोधे ? तिमीहरू किन फर्केर आयौ फेरि ? साम्पाङनीले जवाफ दिइन्, ‘श्रीमान्को मृत्यु भयो, देक्तेलमा उहाँको मृत्यु भएपछि यी नाबालक छोराहरूको पालनपोषण गर्न एक्लैले नसकेपछि तपाईहरूको शरणमा परेको हो ।’ त्यसपछि साम्पाङहरूले भान्जाहरूलाई राखेर पालनपोषण गर्ने जिम्मा लिन्छन् । जीवन गुजराका लागि साम्पाङ भान्जाहरूसँग सिकार खेल्न जान्थे । यसरी सिकार खेल्ने क्रममा मामाभान्जाको ग्रह जुध्यो । खप्दुलुका सन्तानहरू आपm्नो साम्पाङ मामाहरूलाई सिकार खेल्नमा जित्थे । मामाभान्जाहरू सिकार खेल्दै जाने क्रममा साम्पाङले साप्लोबो (बँदेल) लाई धनुषबाणले हान्दा कहिल्यै पनि निशाना लागेन तर भान्जाहरूले धनुषबाणले बँदेललाई हान्दा सात डाँडापारि पनि कहिल्यै निशाना चुकेन । अनि बिस्तारै साम्पाङहरूको भान्जाहरूमाथि डाहा बढ्न थाल्यो । साम्पाङहरूले भान्जाहरूलाई फालिसाम्पाङ पुछारको अरुण खोलाको खहरेघाट लगी डुंगामा हालेर अरुण खोलाको माझमा पुगेपछि घोप्टाइदिने योजना गरे । भोलिपल्ट साम्पाङ मामाहरूले भान्जाहरूलाई सिकार खेल्न जाऔँ भनेर डुंगामा हालेर जेठा ताप्तीमुर र माइला काकानारीजनलाई अरुण खोलामा लगेर माझमा पुगेपछि डुंगाबाट पल्टाइदिए (यस अर्थले पिल्मोस नाउकुबप शब्दको सुरुवात) ।
तर यो घटना हुनुअघि साम्पाङ्नी बज्यैले मामाहरूको चाल थाहा पाइसकेकी थिइन् । बज्यैले साना बालक छाम्पानामलाई चिन्डोको फेदमा प्वाल पारेर पानी भर्न पठाइदिन र भनी यो चिन्डो नभरिकन नआउनू, छाम्पानामले प्वाल परेको चिन्डोमा पानी भर्दा–भर्दा रात पर्छ तर चिन्डो भरिएन । चिन्डोमा पानी नभरिएपछि छाम्पानाम बेलुकी पानीबिना नै घर फर्किए । त्यसरी बाँचेको छाम्पानामलाई बज्यैले मामाहरूदेखि लुकाएर हुर्काइन । पछि छाम्पानाम जवान भएपछि बज्यैले आफ्नै दिबुखा देक्तेल पिल्मो नै फर्काए । यसरी पिल्मो फर्किने क्रममा छाम्पानाम खोटाङको रावाखोला, दूधकोसीको किनार–किनार र हुँगा खोलाको किनार–किनार हुँदै साबिक गुदेलको थोकोदोमा आएर बसे । सोही क्षेत्रमा नै छाम्पानामले सिकार खेलेर बस्न थाले ।
त्यो समय किराती वंशको दिस्मीको माइला सन्तान खप (कुलुङ) हुँगा खोलावारि (अहिले सोही ठाउँ खपही) बस्थे । वारिपारि नजिकै भएको हुनाले खपले बिहान उठेर हेर्दा पारि थोकोदोमा फुङ्मासाम (धुँवाको मुस्लो) निस्केको र राति हेर्दा मिम साम (आगो बलेको) देख्छ । त्यसपछि खपले त्यहाँ बसेका आफ्नो सन्तानहरूलाई सोहीअनुसारको कुरा सुनाई पारि बसेको मनुवा कोही हाम्रो दाजुभाइ होकी को हो ? सोधेर, हेरेर यतै ल्याउनू भनी छाम्पानामलाई लिन पठाउँछन् । खपका मान्छेहरू जाँदा छाम्पानाम मजाले आगोको मुस्लोभित्र एक्लै ओढारमा सुतिरहेका हुन्छन् । खपका मान्छेहरूले तपाईं को हो ? कहाँबाट आउनुभयो ? हामी तपाईलाई नै लिन आएको पारि बस्छौँ, जाऔँ पारि नै बसौँ भनेर प्रश्न गर्दा छाम्पानामले केही उत्तर नदिई नजाने इसारामा मुन्टो मात्र हल्लाएर बस्यो । यो मान्छे लाटो रैछ बोल्दैन भनेर काम गराउन उद्धेश्य राखेर फकाई, फुलाई खपही ल्याउने प्रयास गरे तर छाम्पानामले मानेनन् । नमानेपछि खपका मान्छेहरू फर्के । त्यहाँ बस्ने मान्छे नै भएको तर लाटो रहेको कुरा खपलाई सुनाए । फेरि खपले छाम्पानामलाई लिन आफ्नो मान्छेहरू पठाए र भने यदि आउन मानेनन् भने जबर्जस्ती गरेर तानेर भए पनि ल्याउनू । अनि छाम्पानामलाई तानेर खपहीमा ल्याए (कुलुङले पिल्मोसलाई तात्छा वा ताच्वा भन्ने गरेको) ।
खपही आएपछि छाम्पानामले खपको गोठालो भएर काम गर्न थाले । समयको रफ्तारपछि खपको छोरी खप्दुछेमसँग छाम्पानामको हिमचिम (माया) बढ्न थाल्यो । खपले पछि खप्दुछेम र छाम्पानाम बीचको सम्बन्ध थाहा पाएपछि फेरि छाम्पानामलाई मार्ने योजना बनाए । उक्त योजना खप्दुछेमले थाहा पाएपछि छाम्पानामसँग खपही छाडेर जाने निर्णय लिए । छाम्पानाम र खप्दुछेम खपही छाडेर फूलपाती खोलाको किनारैकिनार हुँदै देक्तेल जारिसखोउ (पिल्मोको हाल्तोमनजिक पर्ने पिल्मो जातिको उद्गम थलो) पुगेर बस्न थाले । खपले भोलिपल्ट बिहानै आफ्नो छोरी खप्दुछेम छाम्पानामले भगाएको थाहा पाए । तर खपले आफ्नो छोरीलाई खोजीनीति भने गरेनन् । यसरी समय बित्दै गयो । ७÷८ वर्षपछि खपलाई आफ्नी छोरी खप्दुछेमको अत्यन्तै याद आउन थाल्यो ।
अनि खपले आफ्नो मान्छेहरूलाई छोरी खप्दुछेम खोज्न अनुरोध गर्छन् । सोहीबमोजिम खपलगायत खपका सन्तानहरू छोरी खप्दुछेम खोज्न खपहीदेखि बाटो बनाउँदै उच्च स्थान पर्ने वोखम (साबिक छेस्काम–७) डाँडासम्म पुगेर पारि पिल्मो, छेस्काम, गुदेल सबैतिर हेर्दा केही पनि पत्तो लागेन । धेरै समयको अन्तरालपछि बाटो बनाउँदै गुदेल, पिल्मो, छेस्काम, छेम्सी, बुङ, नाम्लुङ र सोताङ सबै ठाउँहरू देख्नका लागि उच्च स्थान खोज्दै खपलगायत खपका मान्छेहरू जुक्तुस्को डाँडा पुगे । जुक्तुस्को डाँडाबाट सबै ठाउँतिर हेर्दा पारि पिल्मोको बीच जंगल (जारिस्खोउ) मा धुँवाको मुस्लो निस्किरहेको देख्छन् ।
त्यसपछि खपहरू बाटो बनाउँदै जारिस्खोउ आउँछन् । त्यहाँ आइपुग्दा छाम्पानाम र खप्दुछेमले तीन सन्तानहरू जेठा हिमान्ता, माइला सुदुलुङ र कान्छा नुर्पिच जन्माइसकेका हुन्छन् र सबै लस्करै भएर सुतिरहेका हुन्छन् । अनि खप बाजेले छाम्पानामलाई ज्वाइँ स्वीकार गर्छ र भन्छ, ‘ए ओ छाची, ओ मोक्सी, खोलोङ ओ चास्ची पिपिल चप्चौ तोङना इम्साक (लाइनै ज्वाइँ, छोरी र नातिहरू सुतेको रै’ छ) । त्यो समयदेखि पिल्मोस पिपिल चप्चौ शब्दको सुरुवात भएको । त्यहाँ नै छाम्पानाम र खप्दुछेमको परिवारलाई छाडेर खप आफ्नो दिबुखा वालीखा (ठाउँ) फर्केर गए ।
पिल्मो जातिको उद्गम थलो जारिस्खोउ देक्तेलबाट बिस्तारै पिल्मो वंश फैलिँदै गयो । त्यसपछि छाम्पानाम र खप्दुछेमले सबै परिवार लिएर खुल्तुमला, दिदिलु हुँदै चारला आएर बस्ती बसाल्न थाले । चारलामा आएपछि खप्दुछेम र छाम्पानाले खेतीपाती गर्नका लागि जंगल फडानी गरी सुरुमा अन्न उत्पादन गर्न थाले । त्यसैकारणले उक्त ठाउँको नाम नै चारला रहन गयो । चारलामा बसेर खेतीपाती गर्ने क्रममा जंगली जनावरको आतंक र हैरानीको कारण बस्न भने सकेनन् । अनि छाम्पानाम र खप्दुछेमले तीन बच्चाहरू लिएर चारलाको डाँडैडाँडा हुँदै अहिले पोछारी भन्ने ठाँउमा आएर बस्न थाले । पोछारी बस्दै गर्दा खप्दुछेमको मृत्यु भयो । खप्दुछेमको मृत्युको बिलौनामा बसिरहेको छाम्पानामले फेरि अर्को शोक थप्न पुग्यो । छाम्पानामका दुई सन्तानहरू माइला सुदुलुङ र कान्छा नुर्पिचको मृत्यु भयो । अनि छाम्पानामले जेठो छोरा हिमान्तालाई पोछारीमा छाडेर फेरि खोटाङको रावाखोलातिर फर्किए । हिमान्ताले सोमान्ता जन्माए । त्यसपछि सकिन लागेको सन्तानमा सोमान्ताको जन्मपछि ( अर्थ पो–पोस्को, छारी–बच्चा) ठाउँको नाम नै पोछारी रहन गयो । सोमान्ताले ताप्तिलु जन्माए ।
मावली पर्ने खपको सन्तानहरू छेम्सी र ताम्सीले साबिक छेस्काम–७, पोपिलु मुनीको बीचमा पर्ने जग्गा दाइजोबापत ताप्तीलुलाई दिए । हाल पनि रिङालु, सुर्बा, वाइसुर आदि पाछाहरूको जग्गा रहेको छ । ताप्तीलु पोछारीबाट अलिक तल रानीवननजिकै आएर बसे । ताप्तीलुले ५ सन्तानहरू जेठा होनीत्ती, माइला लोवात्ती, साइला सुर्बा, काइला मोरोमुल र कान्छा गोक्तुलु जन्माए । यी ५ दाजुभाइको जन्म भएको ठाउँको नाम हाल ङाबु (अर्थ ङा–५, बु– दाजुभाइको जन्म) रहेको छ । पछि होनीत्तीबाट छुट्टिएर राराङ्गीप भए । राराङ्गीपबाट छुट्टिएर राजित्ती, होबित्ती र रिङालु भए । लोवात्तीबाट छुट्टिएर कालीसिङ, लाप्चासी, होछोरेप र खिकार भए । लाप्चासीबाट छुट्टिएर फोवात्ती भए । खिकारबाट छुट्टिएर मुलुखु भए । सुर्बाबाट छुट्टिएर सैमालुङ, रेम्निसिङ र वाइसुर भए ।
सैमालुङबाट छुट्टिएर छाम्निबु भए । रेम्निसिङबाट छुट्टिएर खम्निसिङ भए । मोरोमुलबाट छुट्टिएर हादिमुल भए । यसरी रिङालु पाछाका सन्तानहरू निम्खम र तिन्दुमामा बस्न थाले । सुर्बा पाछाका सन्तानहरू जिदो, मेल्लोउ, सुम्बु र कापमा बस्न थाले । होनित्ती खाक्ला र लोवात्ती तिवामा बस्न थाले । वाइसुर बोहीमा आएर बस्न थाले । सैमालुङ निमखम्म आसपास आएर बस्न थाले । रेम्निसिङ, गोक्तुलु र मोरोमुल बुङको भुँवाखोला किनार छेउछाउ आएर बस्न थाले । रावाखोला पुगेपछि छाम्पानामले फेरि नास्मी वंशको जेठा पुर्खा थुक्सीको छोरी राखालीमेसँग हिमचिम बढाएर कान्छी बिहे ग¥यो । छाम्पानामले कान्छी श्रीमती राखालीमेलाई लिएर नाम्लुङमा आएर बस्न थाले । छाम्पानामले कान्छी श्रीमती राखाबाट ल्याएपछि राखालीमे गर्भिणी भइन् ।
यसरी छाम्पानामको कान्छी श्रीमतीपट्टिबाट जन्मेको छोराको नाम राख्दा राखाबाट थोम्पा (इरिङ भाषाबाट तलबाट माथि ल्याइएको) हुनाले थोप राखे । थोपको जन्मपछि छाम्पानामको मृत्यु भयो । थोपले जुप्हो जन्माए । जुप्होले खाबप्दि जन्माए । खाबप्दिले पप्हो जन्माए । पप्होले लाल्हो जन्माए । लाल्होले दिलुम्बू जन्माए । दिलुम्बूले रिप्पा जन्माए । रिप्पाले लाछिरी जन्माए । लाछिरीले दोछेलु जन्माए । दोछेलुले रुवाम् जन्माए । रुवाम्ले छार्ता जन्माए । छार्ताले छालुप्पा जन्माए ।
छालुप्पाले लोप जन्माए । लोपले वाल्हो जन्माए । वाल्होले थुरमाही जन्माए । थुरमाहीले लोदुमा जन्माए । लोदुमाले दुकुछे जन्माए । दुकुछेका सन्तानहरू जेठा येइसा र कान्छा लुखुर्बु जन्मिए । लुखुर्बुले वालेमुख जन्माए । वालेमुखले रोदुमुक्स जन्माए । रोदुमुक्सले जेठा होछात्ती र कान्छा होछासो जन्माए । होछातीले होतुराज जन्माए । होतुराजले जेठा यातिहो र कान्छा हिन्दुखू जन्माए । यातीहोले जेठा थोमरोस, माइला सायोपोस, साइला श्रीपोस, काइला रोजीपोस र कान्छा होपोत्तीस जन्माए । हिन्दुखुले जेठा होलोत्ती, माइला छानित्ती, साइला लामाखुस र कान्छा गुरुतिस जन्माए । होछासोले जेठा देउराम र कान्छा छेन्हो जन्माए । छेन्होको सन्तानहरू जेठा छेन्दीसी, माइला छेइमाहो, साइला ताम्नीहो, काइला एन्होस र कान्छा छाम्निहो जन्माए ।
यातीहोका सन्तानहरू नाम्लुङको वास्दोवामा श्रीपोस, राजीपोस, थोमरोस र हिन्दुखुको सन्तानहरू होलोत्ती, केही गुरुत्तिस र छानित्ती बस्न थाले । यातीहोका सन्तानहरू नाम्लुङको रोक्थुमा सायोपोस, होपोतिस र हिन्दुखुका सन्तानहरू लामाखुस, केही गुरुसित र छानित्ती बस्न थाले भने होछासोका सन्तानहरू देउराम र छेन्हो चोचालुङमा गएर बस्न थाले । हाल चोचालुङमा छेन्होका सन्तानहरू छेन्दिसी, छेइमाहो, ताम्नीहो, एन्होस, छाम्निहो, ताप्तिलु वंशका लोवात्ती र होछाती वंशका हिन्दुखु पाछाहरूको बसोबास रहेको छ ।
यसरी पिल्मो जातिको पुर्खा खप्दुलुका छोरा छाम्पानामका सन्तानहरू पिल्मोमा बस्ने खप्दुछेम बुसुमतोमप (जेठी) पट्टिको र नाम्लुङमा बस्ने राखालिमे रिदोतोम (कान्छी) पट्टिको सन्तानहरू भएकाले आदिमकालमा हरेक धर्र्म, सांस्किृतिक, संस्कार, रितिरिवाज सँगसँगै गर्ने तथा चाडवाडसँगै मनाउने र मर्दापर्दासमेत सँगै बसेर साथ सहयोग गर्ने गरेको थियो । पछिल्लो समय हुँगा खोलाको बाढी, पहिरोले बाटो अवरोधको सिर्जना भएको कारण पिल्मोले लाछोप्प नोक्छो (मर्दापर्दाको पुरोहित अर्थात् पुर्खा) लिने र नाम्लुङले तोस नोक्छो (भूमे पूजाको पुरोहित अर्थात् पुर्खा) लिने भनेर एकअर्कामा सहमति गरी आ–आफ्नै ठाउँबाट पिल्मोले पिल्मोमा नै र नाम्लुङले नाम्लुमै गर्ने निर्णय भयो । त्यो समयदेखि पिल्मोमा तोस नोक्छो छैन र नाम्लुङमा लाछोप्प नोक्छो छैन । यो इतिहास भने अझै पनि ताजा नै रहेको छ तर बुझेर पनि नबुझेजस्तो, जानेर पनि नजानेजस्तो नाटकीय व्यवहार देखाउने अनि थाहा नभई अन्य जातिको इतिहास थाहा हुने इतिहासकारहरू तथा अग्रजहरूप्रति पनि पिल्मो जातिको पहिचानका लागि सबै एकजुट हुन आवश्यक देखिन्छ ।