सिन्धुपाल्चोक — सिल्क ग्रुपको प्रायोजन, बार्हबिसे नगरपालिकाको सहयोग तथा खुर्सानीबारी खेलकुद कभर्डहलको आयोजनामा हुने बार्हबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोलीका रत्नजित तामाङ्ग, दिपेश धामी, नविन श्रेष्ठ, रशिला महर्जन, अनुमाया राई, अमिता गिरीलगायतका खेलाडीहरू खेल स्थलमा आईपुगि सकेको छन् ।
मंसिर १५ देखि १८ गते सम्म हुने राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (नेपाल ब्याडमिन्टन संघको एकल तर्फ उच्च २० बरियतामा रहेका खेलाडीहरू बाहेक), सिन्धुपाल्चोक जिल्ला स्तरिय पुरुष युगल र भेट्रान्स युगल गरि ५ बिधामा १४८ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।
जिल्लामा ब्याडमिन्टन खेलको विकास तथा विस्तार गर्दै नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । ५ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा शिर्ष तीनस्थान हात पार्ने खेलाडीहरूले पुरुष एकल तर्फ १ लाख २५ हजार, ६५ हजार र ३० हजारका साथै मेडल, प्रमाण पत्र, महिला एकल तर्फ ५० हजार, २५ हजार र १२ हजार ५ सयका साथै मेडल र प्रमाण पत्र, पुरुष युगल तर्फ १ लाख, ५० हजार र २५ हजारका साथै मेडल र प्रमाण पत्र, जिल्लास्तरिय युगल तर्फ र भेट्रान्स युगल तर्फका खेलाडीहरूले गिफ्ट ह्याम्परका साथै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
३५ लाख अनुमानित बजेट रहेको प्रतियोगितालाई स्तररियता प्रदान गर्नका लागि प्रायोजक सिल्क ग्रुपले १० लाख बराबरको अन्तर्राष्ट्रिय स्तरको २ कोर्ट म्याट आयोजक खुर्सानीबारी खेलकुद कभर्डहललाई प्रदान गरेको छ ।