काठमाडौं– दर्शकहरूको युट्युबमा फिल्म पर्खिने बानीले पछिल्लो समय नेपाली फिल्म हलमा फ्लप र युट्युबमा सुपरहिट हुने शृंखला बढेको छ । मल्टिस्टारर फिल्म ‘हजार जुनीसम्म’ को हकमा पनि त्यस्तै भएको छ । दुई वर्षअघि प्रदर्शनमा आएको यो फिल्मले हलमा सफलता हात पारेको थिएन । निर्माण टिमले प्रचार–प्रसार गतिलै गरे पनि दर्शकले भने फिल्मलाई पत्याएनन् । फिल्मको माउथ पब्लिसिटी पनि बलियो थिएन ।
तीन दिन अगाडि यो फिल्म ओएसआरको युट्युब च्यानलमा रिलिज भएको छ । युट्युबमा सार्वजनिक हुनसाथ फिल्म हेर्न दर्शक ओइरिएका छन् । युट्युब रिलिजको तीन दिनमा फिल्मले २३ लाख बढी भ्युज पाएको छ भने ९५ प्रतिशत सकारात्मक प्रतिक्रिया प्राप्त छ । जबकी, हलमा फिल्म हेर्दा नाक खुम्च्याउने दर्शक धेरै थिए । अहिले फिल्म युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ । विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ मा आर्यन सिग्देल, सलोन बस्नेत, स्वस्तिमा खड्का, शिवहरी पौडेल, सञ्चिता लुइँटेल, अखिलेस प्रधान, प्रियंका कार्की, अनुभव रेग्मीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्ममा आर्यन दुई फरक चरित्रमा प्रस्तुत छन् । फिल्मलाई सिक्किममा पूर्व मुख्यमन्त्री पवन चाम्लिङका छोरा विशाल चाम्लिङले निर्माण गरेका हुन् । ‘युट्युबमा सित्तैमा फिल्म हेर्न पाएपछि महँगो टिकट काटेर दर्शक हलसम्म किन जान्छन् ?’ यो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा उठेको गम्भीर प्रश्न हो । युट्युबमा फिल्म सार्वजनिक गर्ने प्रवृतिले हलमा दर्शक घट्न थालेका छन् । तर, नेपाली निर्माताहरूले केही लाखको लोभमा फिल्मको युट्युब राइट्स बेच्न छाडेका छैनन् । जसले गर्दा नेपाली फिल्मको घरेलु बजार नै डामाडोल बनेको छ ।
कुनै समय सहरका भित्तामा पोस्टर देखेको भरमा फिल्म हेर्नका लागि हलसम्म ओइरिने दर्शकहरू अहिले युट्युबमा फिल्म पर्खेर बस्ने गरेका छन् । ‘केही समयमा युट्युबमै फिल्म आइहाल्छ किन टिकट काटेर हेर्ने’ भन्ने सोचाइले दर्शकहरूको ठूलो वर्ग फिल्म हेर्न हलसम्म जानै छाडेको छ । तर, नेपाली निर्माताहरूले यस्ता कुरालाई एउटा कानले सुनेर अर्को कानले उडाउने गरेका छन् ।
हलमा नचलेको फिल्म युट्युबमा सुपरहिट भएको ‘हजार जुनीसम्म’ पहिलो उदाहरण भने होइन । यसअघि कयैन् फ्लप फिल्मले युट्युबमा उल्लेख्य भ्यूजसहित सकारात्मक प्रतिक्रिया बटुलेका छन् । दुई हप्तादेखि युट्युब ट्रेन्डिङमा रहेका दुई नेपाली फिल्म ‘यात्रा र लम्फू’ पनि हलमा फ्लप भएका थिए । युट्युबमा भने यी दुवै फिल्मलाई राम्रो भ्यूजसँगै सकारात्मक प्रतिक्रिया मिलेको छ ।