गण्डकी– गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले नागरिकको सूचनाको हक पाउने संवैधानिक अधिकार हनन् गर्नु अपराध भएको बताएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित सूचनाको हकसम्बन्धी दुईदिने प्रदेश भेलामा उनले यस्तो बताएका हुन् । उनले सूचनाको हकसम्बन्धी कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै भने, ‘नागरिकको सूचनाको हक संवैधानिक अधिकार भित्र पर्दछ । त्यसको हनन् गर्नु भनेको अपराध गर्नु हो ।
उनले सरकारले सञ्चार सम्बन्धि कानुनको मस्यौदा तयार पारिरहेको जनाए । उनले सूचनाको हक मौलिक हक भएकाले सूचना लुकाउने प्रवृत्ति चिर्न पनि तालिमहरूको आवश्यकता भएको बताए ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त तथा प्रशिक्षक यशोदा तिमिल्सिनाले शासनमा बस्दा सूचना नदिने प्रवृद्धि रहेको बताइन् । उनले तर त्यही व्यक्ति शासनबाट बाहिर हुनेबित्तिकै हरेक नागरिकले सूचना पाउनुपर्छ भन्दै हिँड्ने प्रवृति राजनीतिक दलहरूमा रहेको उनको भनाइ थियो । उनले नेपालका प्रदेश सरकारले समेत भारतमा जस्तै आयोग गठन गरी नागरिकले सजिलै सूचना पाउनुपर्ने अधिकारलाई व्यवस्थापन गर्ने कानुन निर्माण गर्नुपर्ने बताइन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले सूचना अधिकारी सूचनामैत्री भई दिएको खण्डमा प्रत्येक नागरिकले सहजै सूचना पाउन सक्ने बताइन् । पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष कमलबहादुर थापाले सबै महत्वपूर्ण कार्यक्रम पोखरा केन्द्रित मात्र हुँदा लेखनाथ क्षेत्र ओझेलमा परेको बताए । पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जराले सूचनाको हकसम्बन्धी ऐनले पत्रकारलाई बलियो बनाएको बताए । उनले पत्रकारिता र सूचनाको हक एउटै सिक्काका दुई पाटा भएको उल्लेख गरे । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष स्मिता अधिकारीले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि उक्त तालिम आयोजना गरिएको जानकारी गराइन् ।