सप्तरी– असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ बुधबार राजविराजमा ३४औँ विश्व एड्स दिवस मनाइएको छ । ¥यालीसहित राजविराज नगरपरिक्रमा गरे पश्चात् आयोजित अन्तक्रिया एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउनुपर्नेमा वक्ताले जोड दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले एड्स संक्रमितलाई फरक दृष्ट्रिकोणले हेर्न र असमान व्यवहार गर्न नहुने बताए सही औषधिको प्रयोग र नियमित जाँचबाट एचआइभी संक्रमण भएको व्यक्ति पनि अब स्वस्थ व्यक्ति सरह वर्षौं एड्स नभइ बाँच्न सक्ने बताइएको छ । एआरटी थेरापी लिएमा एड्स संक्रमितले पनि सामान्य व्यक्ति सरह जीवनयापन गर्नसक्ने यादवले बताए । सप्तरीमा आर्थिक वर्ष २०७५/७६ मा ५९.९३, २०७६/०७७ मा ४६.८६ र ०७७/०७८ मा ४३.३३ प्रतिशत गर्भवती महिलाले मात्र एड्स जचाएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
शतप्रतिशत गर्भवती महिलाले जचाउँनुपर्नेमा जचाउँने महिलाको प्रतिशत कम भइरहेकामा सरोकारवालाले चिन्ता प्रकट गरेका छन् पोजिटभ आएको संख्या भने क्रमशःबढदै गएको छ । एचटिसी कार्यक्रमअन्तर्गत २०७५/७६ मा ११, २०७/७७ मा १२ र २०७७/७८ मा ३२ जनाको रिपोर्टिङ्ग हुनु डरलाग्दो कुरा भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जोखिमयुक्त क्षेत्र खोज्नु र तोक्नुपर्ने भन्दै सहयोगी समाजका कोर्डिनेटर पदम लामिछाने क्षेत्रीले एआरटिले शरीरमा एचआइभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्ने बताए चिकित्सकसँग सल्लाह र एआरटी सेवालाई निरन्तरता दिनुपर्नेमा क्षेत्रीले जोड दिए ।
प्राणघातक र पापकर्मका कारण नभइ एड्स संक्रमितको रगत कुनै कारणले अन्य व्यक्तिमा पुग्दा संक्रमित हुने जनाउँदै महिला सचेतना समाजकी सुनिता साहले अगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने वा जुठो खाँदैमा एचआइभी संक्रमण नसर्ने बताए । असुरक्षित यौनसम्पर्क, एउटै सुई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्ने जानकारी दिँदै उनले नियमित चिकित्सकसँगको जाँच र औषधिको सेवनले संक्रमितले सामान्यजीवन बिताउनसक्ने बताए । सन् १९८८ देखि प्रत्येकवर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।