काठमाडौं– भारतीय सिनेमा क्षेत्रका कलाकारहरू राजनीतिमा होमिने क्रम तीव्र छ । धेरै कलाकारहरू राजनीतिमा सक्रिय बनेर विभिन्न राजकीय पदमा समेत पुगिसकेका छन् । सांसददेखि मन्त्रीसम्म बन्ने कलाकारको सूची भारतमा लामो छ । पछिल्लोसमय नेपाली सिनेमा जगतका कलाकारहरू पनि राजनीतिमा होमिने क्रम जारी छ । करिस्मा मानन्धर, कोमल वलीदेखि रेखा थापासम्म सक्रिय राजनीतिमा होमिसकेका छन् । अन्य कलारकारहरू पनि विभिन्न पार्टीको सांगठानिक संरचनाभित्र अटाइसकेका छन् ।
केही कलाकारहरू राजनीतिक दलको केन्द्रीय कमिटीमा समेत पुगिसकेका छन् । नायिका करिस्मा नयाँ शक्ति पार्टीको केन्द्रीय समितिमा थिइन् । कलाकार कोमल वली भर्खरै सम्पन्न नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । अर्का कलाकार रेखा थापाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बन्ने तयारीमा लागेकी छन् । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा रेखाले महामन्त्रीको उम्मेदवार बनेकी छन् ।
राजावादी राजनीतिक दल राप्रपाको बुधवारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा रेखाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । हाल राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी उनी अध्यक्ष पदका दाबेदार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उठ्न लागेकी हुन् । उनले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिनेछिन् । रेखाले महामन्त्री पदमा उम्मेदवारी दिने भएपछि नेपाली फिल्मकर्मीहरूले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् । ०७३ सालमा राप्रपा प्रवेश गरेकी रेखा अब राप्रपालाई युवा नेतृत्व पंक्तिले हाँक्नु पर्ने बताउँछिन् । यही कारणले आफूले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको उनको भनाइ छ । राजेन्द्रले उम्मेदवारी घोषणा गर्दा पनि रेखा उपस्थित थिइन् ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखा राप्रपा प्रवेश गर्दा कमल थापानिकट मानिएकी थिइन् । राप्रपा फुटेपछि भने उनी पशुपतिसम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह–महामन्त्री बनेकी थिइन् । पछि फेरि दुइ राप्रपा एक भएपछि उनी केन्द्रीय सदस्य बनिन् । यसपटक उनी राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गरेर आफू महामन्त्रीमा उठ्दैछिन् ।