काठमाडौं— नेपाली लोकसंगीतका लागि देवी घर्ती धरोहर हुन् । चर्चित गायिका देवी घर्ती आफैँलाई ठ्याक्कै थाहा छैन, अहिलेसम्म कति गीत गाएँ ? उनी भन्छिन्, ‘सुरुमा मात्रै हो थाहा हुने, अहिले त कति गाएँ, थाहै छैन ।’ उनी अनुमान गर्छिन्, ‘६ हजारभन्दा बढी नै भयो होला ।’ बागलुङ, पाण्डवखानी–१ की देवी घर्ती नेपाली लोकदोहोरी तथा लोक गायनका लागि सिग्नेचर मानिन्छिन् । उनका हरेक गीत दर्शक तथा श्रोताको रुचाउँदै आएका छन् ।
‘बिर्सियांै कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘गण्डकी पौडेर’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’जस्ता कर्णप्रिय गीतहरू उनी चाङ छ । यी गीतहरू नुसन्ने सायदै श्रोता होलान् । यस्तै, ‘जिम्मल बाको आँगनीमा’, ‘यही चाल होला भन्याभा’, ‘उही खोलीमा पानी’ जस्ता गीतहरू पनि श्रोताको ओठमै झुन्डिएको छ । २०६१ सालमा दोहोरी साँझमा गाउनका लागि बागलुङबाट काठमाडौं आएकी देवी घर्ती एकताका यति व्यस्त भइन्, त्यो बेला उनलाई खान र सुत्नसमेत राम्ररी समय मिल्दैन थियो । उनी भन्छिन्, ‘त्यो समय एकैदिन आठ वटासम्म गीत रेकर्ड गरेकी छु ।’
त्यसो त उनी युट्युबमा करोड क्लब पार गर्ने पहिलो लोकदोहोरी गायिका समेत हुन् । अर्कोपक्ष, लोकदोहोरी क्षेत्रमा उनको डिमाण्ड कहिल्यै तलमाथि भएको छैन । करिब डेढ दशकको सांगीतिक यात्रामा अलिकति पनि उनी डग्मगाइनन् अर्थात उस्तै तीव्रता र उस्तै गतिमा दौडिरहेकी छन् उनी । सांगीतिक माहोलमै हुर्केबढेकी उनी भन्छिन्, ‘बुबा–आमा भजन गाउनुहुन्थ्यो । त्यो बेला म पनि उहाँहरूसँगै भजन सुन्न र नाच्न जान्थेँ ।’ आफ्ना बुबा–आमाबाटै आफूमा गाउने गुण सरेको उनी आँकलन गर्छिन् ।
गाउँमा स्थानीय युवा क्लबले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा सहभागी भएको पहिलोपटक नै उनी प्रथम भएकी थिइन । कक्षा आठमा पढ्दै गर्दा जिल्ला–जिल्लामा एफएम रेडियो खुल्ने लहर चलेको थियो । त्यो बेला लक्ष्मी न्यौपाने, बिमाकुमारी दुरा, हरिदेवी कोइराला, सिन्धु मल्ललगायतका गीत सुनिरहँदा लाग्थ्यो, ‘एकदिन म पनि यसरी गीत गाउनेछु ।’ उनको एउटै लक्ष्य थियो, गायिका बन्नेर रेडियोमा आफ्नो आवाज घन्काउनु । त्यतिबेलै बाग्लुङमा बसेर गीत–संगीतमा जम्न सकिँदैन भन्ने लागेपछि उनले काठमाडौं आउने योजना बनाएकी हुन् ।
गायिका देवी भन्छिन्, ‘अब काठमाडौं गएर गायिका बन्ने हो । दोहोरी साँझमा गीत गाउने हो भनेर पढ्न छाडेँ ।’ तर, गायिका बन्न काठमाडौं आउने कल्पनामै उनको चार वर्ष बित्यो । उनी सम्झिन्छन्, ‘एकदिन म्याग्दीमा मेलामा गायिका लक्ष्मी भुजेल काठमाडौंदेखि आएको थाहा पाएपछि मेला हेर्न माइला दाइसँग गए ।’ देवीको बारेमा दाइले नै लक्ष्मीलाई सुनाएका थिए ।
गायिका लक्ष्मीले बोलाएपछि पहिलोपटक दाइको साथ लागेर २०६१ सालमा काठमाडौं आएको उनी बताउँछिन् । काठमाडौं आएपछि दोहोरी साँझमा जागीर सुरु गरिन् । त्योबेला काठमाडौंमा दोहोरी साँझको लहर चलेको थियो । उनी भन्छिन्, ‘एक वर्षसम्म एकदिन पनि नबिराई दोहोरी साँझ हाजिर भएँ ।’ त्यो बेला उनलाई जागिर पाउन समय नलागेझैँ पहिलो गीत रेकर्ड गराउन पनि समय लागेन । उनी भन्छिन्, ‘दोहोरी साँझमा गायक खड्ग गर्ब‘जा आउँजाउ गरिरहन्थे । मेरो स्वर उहाँले मनपराएपछि गाउन अफर गर्नुभयो ।’
गायिका देवीले पहिलोपटक रेकर्ड गराएको गीत हो, ‘बतासले रुमाल फरर’ । जुन गीत श्रोताले अत्याधिक रुचाए पनि । देवी भन्छिन्, ‘त्यसपछि गान्धर्व संगीत पाठशालामा एक वर्ष संगीत सिकेँ ।’ संगीत संयोजक जुजु गुरुङसँग भेटेपछि देवीका लागि थप अवसरका ढोका खुला भए । गायिका देवीका त्यसपछि हरेक गीत चर्चामा आउन थाल्यो । रेशम सापकोटासँग गाएको तीज गीत ‘पल्के भेना बाई’ होस् वा मिलन लामासँग गाएको ‘झल्को लाली ओठको’ बोलको गीत नै किन नहोस् । उनी एकपछि अर्को गीत गाउन थालिन् ।
‘बिर्सियौ कि कुन्नी’, ‘मायाले मन छुन्छ’, ‘चरी मधुवनभरि’, ‘गण्डकी पौडेर’ होस् वा ‘पानी इनारमा’, ‘फूलमा माहुरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’ नै किन नहोस् । सीआरबीटीको समयमा देवीका गीतले श्रोता÷दर्शकको उत्तिकै मन जिते । उनका एकपछि अर्को गीत श्रोता–दर्शकले रुचाउँदै गए ।हजारौँ गीत गाएपनि देवी घर्तीको खुट्टाले कहिल्यै जमिन छोडेका छैनन् । उनी हिजो जस्तो थिइन्, आज पनि त्यस्तै छिन् । देवी घर्तीको सफलताको एउटा कारण पनि यही नै हो ।