काठमाडौं — सातै प्रदेशमा ‘सप्तरंग–३’ कार्यक्रम हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रमबीच आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सो कार्यक्रम सातै प्रदेशका कलाकारको जोडिएर सहकार्यमा सचेतना फैलाउने बताइएको छ ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरंग’को मूल आशय हो’ आयोजकको भनाइ छ । पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मंसिरदेखि काँकडभिट्टाबाट सुरु हुने कार्यक्रम पुस ९ गते पोखरामा गएर अन्त्य हुने बताइएको छ । काँकडभिट्टालगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ ।
‘सप्तरंग–३’मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, गायक प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजाराजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरू सहभागी हुने आयोजकले जनाएको छ । विगत पाँच वर्षदेखि निरन्तररूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रममार्फत सिँगो देश र विदेशमा रहँदै आएका आप्रवासी नेपालीहरुलाई एउटै साझा साँगीतिक धागोमा गाँस्दै आएको छ ।
नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफैँ चिनाउनेछन्’ भन्ने मूल नाराकासाथ कार्यक्रम गर्दै आएको छ । पहिलो र दोस्रो संस्करणले सात प्रदेशबिच आम जनताको सम्बन्धमा सुमधुर बनाउन प्रभावकारी भएको आयोजकले जनाएको छ । यस संस्करणले सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट स्वास्थ्य र सम्बृद्धिको नारालाई प्रवद्र्धन गरिने बताइएको छ ।