काठमाडौं – नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी नियुक्त भएका छन् । युनाईटेड अरब इमिरेट्समा हुने एसीसी यू–१९ एसिया कपको बन्द प्रशिक्षण सुरु हुनुभन्दा एक दिन अघि ठकुरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले ठकुरी मुख्य प्रशिक्षकमा नियुक्त भएको बताए । नेपाली टोलीले बुधबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । ठकुरीकै प्रशिक्षणमा लुम्बिनीले आइतबार सम्पन्न वाई–वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । ठकुरीले गत सेप्टेम्बरमा सम्पन्न नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणत्मक एकदिवसिय क्रिकेट सिरिजका क्रममा राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए ।
क्यानले बन्द प्रशिक्षणको लागि अहिले २० खेलाडीलाई टोलीमा समावेश गरेको छ । यू–१९ एसिया कपका लागि ३ वा ४ दिनभित्रै अन्तिम १५ जनाको टोली घोषणा गरिने कार्यवाहक सचिव मल्लले जानकारी गराए । मल्लका अनुसार बन्द प्रशिक्षण प्रतियोगितामा सहभागिता जनाउनु एकदिन अघिसम्म जारी रहनेछ ।
प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नुपर्नेछ । एसिया कप युएईमा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ । एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।