काठमाडौं – बलिउड नगरीमा हल्लाका लागि केही चाहिँदैन । एउटा हिरोइनले खाना नखाएको समेत गसिप बनेर छाउने गर्छ । यतिखेर बलिउडमा अभिनेत्री कट्रिना कैफको विवाहले भारतीय मिडिया रंगाएको छ । कुनै समय बलिउड अभिनेता सलमान खानसँग अफेयर्समा रहेर चर्चामा आएकी कट्रिना यही डिसेम्बर ९ मा विवाह गर्दैछिन् ।
भारतीय मिडियाले जनाएअनुसार बलिउड अभिनेता विक्की कौशलसँग अभिनेत्री कट्रिनाले विवाह गदैछिन् । राजस्थानमा उनीहरूको विवाह ‘रोयल शैली’मा हुने तयारी रहेको समेत बताइएको छ । त्यसका लागि यी जोडी महिना दिनअघिदेखि नै तयारी थालेका थिए ।
भारतीय कलाकारको सानो कुरालाई समेत हंगामा गर्ने ‘बलिउड हंगामा’का अनुसार विवाहका लागि विक्की र कट्रिना दुवै राजस्थान पुगेका छन् । उनका पाहुनाहरू पनि राजस्थान पुग्नेक्रम जारी रहेको बताइएको छ ।
यसैबीच कट्रिनाको विवाहमा उनका पूर्वप्रेमिकासमेत रहेका अभिनेता सलमान खान जान्छन् वा जाँदैनन् भनेर भारतीय मिडियाले चर्चा थालेका छन् । बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘कट्रिनाको विवाहमा सलमान खानका सबै परिवार सरिक हुँदैछ ।’
सलमान खान कट्रिनाका बहिनीको एकदमै नजिक रहेको भन्दै उनी विवाहमा सरिक हुने सम्भावना धेरै रहेको बताइएको छ । कट्रिना पनि सलमान खान परिवारसहित विवाहमा सहभागी भइदिए हुन्थ्यो भन्ने चाहन्छन् । कट्रिना र सलमान खानको परिवारबीच विगतदेखि नै राम्रो सम्बन्ध रहेकाले कट्रिनाको यस्तो चाहना गरेको बताइन्छ ।
सलमान खान साँच्चिकै कट्रिनासँग विवाह गर्न चाहेको बताइन्छ । तर, उनीहरूबीचको प्रेम भने सफल हु्न सकेन । उनीहरूबीच ब्रेकअप भएर पनि भेटका बोलचाल भने गर्दै आएका छन् ।
पछिल्लो समय आफहरू ‘साथी’मा सिमित रहेको सलमानले केही समयअघि एक भारतीय पत्रिकालाई बताएका थिए । तर, सलमानको उक्त भनाइमा कट्रिना मौन थिइन् । विवाह गर्न लागेकै कारण सलमानप्रति उनले टिप्पणी गर्न नचाहेको अहिले खुलेको छ ।
यसैबीच अभिनेता कौशल र कट्रिनाको विवाह समारोहको भिडियो खिच्न दिएवापत सय करोड भारु पाउने ‘अफर’ आएको छ । यदि उनीहरूले बिहेको फुटेज बिक्री गरे भने पनि त्यति नै रकम पाउने छन् ।
कोइमोइका अनुसार उनीहरूले बिहेमा सीमित पाहुनालाई निम्तो दिएका छन् । बिहेमा पाहुनालाई पनि मोबाइल चलाउन नपाउने र बाहिरी मान्छेसँग सम्पर्क गर्न नपाउने नियम राखेका छन् ।
यसरी मिडिया र प्रशंसकहरूले उनीहरूको बिहेका फोटो वा कार्यक्रममा के भइरहेका छन् भन्नेबारे कुनै जानकारी पाउने छैनन् । यही कारण एक ओटीटी प्लेटफर्मले उनीहरूको बिहेको फुटेज किन्न सय करोड भारु दिने प्रस्ताव राखेका हुन् ।