काठमाडौं — अशक्त तथा आर्थिक अवस्था कमजोर भएका चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित स्थापना भएको चलचित्रकर्मी कल्याणकारी कोषमा आर्थिक सहयोग गर्ने कलाकर्मीहरूलाई सम्मान गरिएको छ ।
कोषलाई अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत प्रेमराजा महतले एक लाख तीन हजार रूपैयाँ, निर्मात्री शारदा बस्नेतले ५१ हजार रूपैयाँ, अभिनेता पल शाहले १ लाख ११ हजार १ सय ११ रूपैयाँ दिएका छन् । उनीहरूलाई बुधबार राजधानीमा एक समारोहबीच चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाल, चलचित्र द्वन्द संघका अध्यक्ष नारायण प्रधानलगायत कदर तथा सम्मानपत्र प्रदान गरेका थिए ।
सो अवसरमा कोषकी संयोजक बसुन्धरा भुषालले सम्पूर्ण सहयोगी मन, दाता, संघ, संस्था सबैमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको बताइन् । समारोहमा कल्याण कोषकी सदस्यसमेत रहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आफ्नो तर्फबाट एक लाख रूपैयाँ तथा चलचित्रकर्मी दीपकराज गिरिको तर्फबाट एक लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।
‘कल्याणकारी कोषको स्थापनाकालदेखि वर्षैंसम्म अत्यन्तै खट्ने आदरणीय बसुन्धरा दिदीप्रति हृदयभरको सहानुभूति प्रकट गर्दै अबका दिनदेखि आदरणीय बसु दिदीको सर्हानीय खटाइको जिम्मेवारी म लिन्छु’ अभिनेत्री निरौलाले समारोहमा भनिन् । चलचित्र कलाकार संघका अध्यक्ष तथा कोषका सदस्य रविन्द्र खड्काले सहयोग गर्ने प्रति आभार ब्यक्त गरेका थिए ।