काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको भने हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो । त्यस्तै पहिलो खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् ।
मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे । जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे । खेलको १४ औँ मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो ।
खेलको २१ औँ मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए । यस जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औँ स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन । खेलमा मछिन्द्रका रंजित धिमाल म्यान अफ दि म्याच चुनिए । खेलको इमर्जिङ प्लेयर जावलाखेलका सिमान्त थापा चुनिए ।
त्यस्तै पहिलो खेलको सुरुआती ५३औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो ।
यता पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । खेलको ६०औँ मिनेटमा रबि पासवानको पासमा सुमन लामाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।
यस बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्कतालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२औँ स्थानमा छ ।