काठमाडौं– २०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।
उद्घाटन सत्रमा आफ्नो विशेष मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको बताइन् । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भइरहेकोमा खुसी व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव तथा सिकाइहरू अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुनेछन् भन्ने मलाई लाग्दछ । यस सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराइ तयार पारेका दस्तावेजहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा लाग्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानका भण्डारका रूपमा रहनेछन् भन्ने मेरो विश्वास छ ।’
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालको पुनर्निर्माण अभियानमा प्रत्यक्ष तथा परोक्ष सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई धन्यवाद दिँदै पुनर्निर्माणबाट निर्णय क्षमता, नयाँ प्रविधि एवं दक्ष जनशक्ति उत्पादन भएको बताए । अर्थमन्त्री शर्माले विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा उच्च राजनीतिक समझदारी तथा मित्र राष्ट्रहरूको सहयोग असाध्यै महत्वपूर्ण हुने उल्लेख गर्दै बाँकी रहेका केही कार्यहरू सरकारका नियमित संयन्त्रमार्फत सम्पन्न गर्ने व्यवस्था गरिएको जानकारी दिए । उद्घाटन कार्यक्रमको अध्यक्षतासमेत गरेका परारष्ट्र मन्त्री डा.नारायण खड्काले दातृ निकाय तथा विकास साझेदारहरूको सहयोगले नेपालीको पुनर्निर्माण अगाडि बढाउने आत्मविश्वास र उत्थानशीलतामा महत्वपूर्ण टेवा दिएको बताए ।