ललितपुर– ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार पाटन पुर्याइएको छ । रातो मच्छिन्द्रनाथलाई बुंमतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको हो । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्काे छ महिना बुंमती राखिने चलनानुसार तःबहाल ल्याइएको छ । ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार मच्छिन्द्रनाथलाई बिहीबार पाँच बजे मन्दिर भित्र्याइएको थियो ।
उनका अनुसार पौने तीन बजे बुंमतीबाट करुणामयलाई बोकेर हिँडेको टोलीले मच्छिन्द्रनाथलाई साँझ ५ बजेको साइत पारेर तःबहालमा भित्र्याएको हो । गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले जानकारी दिएका छन् । उनको अनुसार भगवानलाई पाटन ल्याउने चार दिन अघिदेखि गुरुज्यु तथा पूजारीहरूले एक छाक चोखो खाएर आवश्यक नियम पालना गरेर बसेका थिए । उनले भने, ‘हामीले पाटन ल्याउनु केही दिनअघि भैरवनाथ अनि कुमारीका साथै मच्छिन्द्रनाथको समेत पूजा गरिसकेका छौँ ।’ यसैगरी चार दिनअघि मच्छिन्द्रनाथको रङरोहण तथा होम र बलि पूजासमेत गरेको बज्राचार्यले जानकारी दिए ।
९ मंसिरमा आफूहरू बसेर हेरेको साइतअनुसार बिहीबार मच्छिन्द्रनाथलाई पाटन ल्याइएको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताएका छन् । किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
रातो मच्छिन्द्रनाथको जात्राका क्रममा भोटो देखाउने प्रचलन छ । जात्राका क्रममा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ । किंवदन्तीअनुसार काठमाडौं उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरूका राजा कर्काेटक नागको जोडी थियो । एक पटक नागिनीको आँखामा समस्या भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुसी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए ।
सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् । पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेत पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले मानेन ।
दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु ‘महाराज मलाई कर्काेटक नागले दिएको भोटो यसले चो¥यो’ भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रूपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।
प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्काेट नागलाई भेटे । नागले आफू पनि मान्छेको रूप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । ‘म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु’, कर्काेटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए ।
राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझैसम्म रहिआएको छ ।