काठमाडौं — चर्चित नेपाली रक ब्याण्ड ‘रबिन एण्ड द न्यु रेभुलेसन’ले आगामी पुस ३ गते शनिबार धरानमा तताउने भएको छ । लामो समयपछि ‘रबिन एण्ड द न्यु रेभुलेसन’ले धरानमा कन्सर्ट गर्न लागेको हो । ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा रविनले आफ्नो प्रस्तुति दिँदैछन् ।
‘रबिन एण्ड द न्यु रेभुलेसन’ ब्याण्डका मुख्य गायक रबिन तामाङ युवापुस्तामाझ लोकप्रिय छन् । हाल ‘रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल’को शुटिङमा व्यस्त रहेका रविनले विभिन्न नेपाली चलचित्रमा अभिनयसमेत गरेका छन् । उनका केटा–केटी, दम मरो दम, चिसोचिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिबाजी, जति माया लाएपानी लगायतका गीतहरू चर्चित छन् । यी गीतहरूमा युवापुस्ता लठ्ठ हुने गरेका छन् । चार बर्षअघि न्यु इयर ईभ कन्सर्टमा धरान प्रस्तुत भएका गायक तामाङ धरानका दर्शकको हरेक पटकको कन्सर्टमा माया बढिरहेको बताउंदै भन्छन्, ‘लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु ।’
टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजना हुनेछ । कन्सर्टमा रबिन एण्ड द न्यु रेभुलेसन सँगै धरानको दुई स्थानीय प्रतिभाहरू हिना मल्ल बराइली र दिपिका बस्नेतको समेत प्रस्तुति रहने बताइएको छ । हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टपटेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दिपिका बस्नेत पनि नेपाल स्टारकी प्रतियोगी हुन् । कोभिडको कारणले दुई बर्षदेखि कुनै पनि ठूलो कन्सर्ट नभएको अवस्थामा धरानमा यो पहिलो कन्सर्ट हो । कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ ।