काठमाडौं– भूतपूर्व शिक्षक समाजले ‘शैक्षिक–स्मारिका’ विमोचन गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै संस्थाको पहिलो अभियानको रूपमा उक्त शैक्षिक स्मारिका विमोचन गरिएको हो ।
यसवर्ष असोज ७ गते गठन भएको भूतपूर्व शिक्षक समाजले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गरेका शिक्षकहरूले जीवनभर शिक्षा क्षेत्रमा आफ्नो जीवनलाई समर्पित गर्ने सोचमा मुनाफारहित संस्थाको रूपमा यस संस्थाको स्थापना गरिएको बताएको छ ।
साथै, संस्थाले आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर सबै राजनीतिक दलमा आवद्ध रहेका भूतपूर्व शिक्षकहरूलाई समेट्ने पनि घोषणा गरेको छ । यस्तै, देशमा भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने भन्दै संस्थाले यो कुरालाई अगाडि बढाउन मूल उद्देश्य बनाएको पनि जानकारी दिएको छ । नेपालमा कुनै पनि जागिर नपाए शिक्षण पेशामा आउने प्रणाली रहेकोमा दुःख व्यक्त गर्दै यस्तो मानसिकतालाई अटाउन पनि संस्थाको मूल उद्देश्य रहेको बताइएको थियो ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रेमप्रसाद भट्टराईले स्मारिका विमोचन गर्दै स्मारिकाको समीक्षा गरेका थिए । उनले उक्त स्मारिकामा ३९ वटा लेख तथा रचना रहेको जानकारी दिँदै शिक्षकहरूले राखेका अनुभवहरू नयाँ पुस्ताको लागि महत्वपूर्ण हुने बताए ।