काठमाडौं – साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । बंगलादेशले पनि पाएको मौकालाई खेर फालेको थियो । यस बराबरीसँगै नेपालले पहिलो खेलमा १ अंक जोडेको छ । बंगलादेशले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।
च्याम्पियनसिपको पहिलो खेलमा भने भुटानले श्रीलंकालाई ५–० ले हराएको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।