काठमाडौं — ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’को विषेश प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शनअगाडि यस फिल्मलाई नेपाल र अमेरिकामा एकसाथ बिषेश प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए ।
‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकाशले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकाले केही विषेश प्रदर्शन गर्न लागेका हौँ ।’ फिल्म नेपाली, अंग्रेजी र गुरुङ गरी तीन भाषामा निर्माण भएको छ । विकाशका अनुसार गुरुङ र तमुहरूको महान चाड ल्होसारको अवसर पारेर ३ पुसमा काडमाडांैको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए)ले विषेश प्रदर्शन गर्न लागेको हो ।
फिल्ममा विश्वास गुरूङ, ईन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्रीजङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरूप घले लगायतको अभिनय रहेको छ । गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलनसहितको कथावस्तु बोकेको यस फिल्ममा नेपालको मनोरम लोकेसनमा छायाँकन गरिएको छ । विषयवस्तुअनुसार कथा र पात्र सुष्म रूपले केलाएर प्रस्तुत गर्ने प्रयास निर्देशक विकासले गरेको बताए ।
रेड ओसियन ईन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्मलाई निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश)का छायाँकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकाश घलेकै रहेको छ । फिल्म नृत्य गोरे गुरुङको रहेको छ । शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक), र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रदो सामाजिक परिस्थितीले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ ।