काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले महिला हिंसाका स्वरूपहरू बदलिएको भन्दै त्यसलाई समयमै निरुत्साहित गर्न सबै सचेत हुनुपर्ने बताएकी छन् । ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’को चौँथो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय महिला आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दहालले महिला हिंसाका जुनसुकै घटनालाई पनि वेवास्ता गर्न नहुने बताइन् ।
महिला हिंसा भनेको बलात्कार र बेचबिखन मात्रै नभएको चर्चा गर्दै उपाध्यक्ष दाहालले भनिन्, ‘महिला हिंसा भन्नेबित्तिकै हामी बलात्कार, चेलीबेटी बेखबिखनलाई मात्रै बुझ्ने गर्छौँ । हेर्दा सानोजस्तो लाग्ने, कार्यस्थलमा, सार्वजनिक स्थलमा हुने दुव्र्यवहार र घटनाहरू पनि महिला हिंसा नै हुन् । त्यस्ता घटनाहरूको तत्काल प्रतिवाद गरेर निरुत्साहित गर्नुपर्दछ ।’
सानो लाग्ने र नपत्याउने खालका घटनालाई बेवास्ता गर्दा पछि ठूलो हिंसाको रूप लिन सक्ने भन्दै उपाध्यक्ष दहालले स–साना लाग्ने घटनाहरूलाई निरुत्साहित गर्न महिलाहरू आफँै सजग हुनुपर्नेमा जोड दिइन् । पछिल्लो समय हिंसा घटनाहरू हुँदा उजुरी पर्ने क्रम बढ्नु सकारात्मक भएको चर्चा गर्दै उपाध्यक्ष दाहालले उजुरीहरूको सही निरूपण र पीडितलाई न्याय दिलाउन सबैको सकारात्मक पहल हुनु आवश्यक रहेको बताइन् ।
महिला हिंसाविरुद्धका थुप्रै कानुनहरू बनेकोतर्फ स्मरण गराउँदै उपाध्यक्ष दाहालले महिलामैत्री कानुन बन्नु मात्रै ठूलो कुरा नभएको र त्यसको कार्यान्वयन गर्नु मुख्य कुरा भएको बताइन् । विभिन्न तथ्यांकले पछिल्लो समय महिला हिंसाका विविध प्रकृतिमध्ये घरेलु हिंसाका घटनाहरू धेरै भएको भन्दै उपाध्यक्ष दहालले घरपरिवार भित्रबाटै हुने महिला हिंसा अन्त्य गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताइन् ।
राष्ट्रिय महिला आयोगले शुरु गरेको ११४५ हेल्पलाइन सेवाले हिंसापीडित महिलाहरूलाई धेरै सहयोग गरेको भन्दै उनले त्यसलाई थप प्रभावकारी बनाउन आयोगले पहल गर्नुपर्नेमा जोड दिइन् । सो अवसरमा आयोगले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको थियो । सम्मानित व्यक्तिहरूलाई उपाध्यक्ष दाहालले सम्मान पत्र र माला पहिराई सम्मान गरेकी थिइन् ।