काठमाडौं — भारतकी सुन्दरी हरनाज कौर सन्धुले यस वर्षको ‘मिस युनिभर्स’को उपाधि जितेकी छन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७०औँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले ‘मिस युनिभर्स–२०२१’को ताज आफ्नो पोल्टामा पार्न सफल भएकी हुन् ।
उनलाई गत वर्षकी ‘मिस युनिभर्स’ मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज लगाइदिएकी थिइन् । २१ वर्षीया सन्धु‘ मिस युनिभर्स’ बन्ने तेस्रो भारतीय सुन्दरी हुन् । ‘मिस युनिभर्स’मा भाग लिनुअघि उनले बलिउड फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।
योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए । ‘मिस युनिभर्स’को विश्व प्रतिस्पर्धामा नेपालको तर्फबाट ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । सुजिताले नेपालको चिनारी झल्काउने कस्ट्युम प्रस्तुत गरेकी थिइन् । तर, उनले कुनैपनि उपाधि जित्न सकिनन् ।