काठमाडौं — निर्देशक सुर्वण थापाले ‘म’ नामक नेपाली फिल्म निर्देशन गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गर्न लागेको ‘म’को सोमबार एकेडेमी परिसरबाटै शुभमूर्हत गरिएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी ११ पुसबाट फ्लोरमा जानेछ । यो फिल्म दुई वर्षअघि नै घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण रोकिएको थियो ।
फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओसमेत रहेका प्रकाश पुरीले लेखेका हुन् । फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सबिन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठलगायत कलाकारको अभिनय रहने बताइएको छ । फिल्ममा बनिश शाहको सम्पादन, तेन्जिन पाल्देनको छायाँकन र सुजन परियारको कस्टुम डिजाइन रहने बताइएको छ । पदम पुरी सहनिर्माता र विमला हुमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह रहको छन् । निर्देशक थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा भन्ने जानकारी दिए ।
शुभमुर्हत समारोहका सहभागी भएका अभिनेता सरोज खनालले फिल्मको नाम ‘म’ भएपनि समाजभित्रको कथा भन्ने बताए । ‘यो फिल्मले समाजभित्रको कथा भन्छ’ उनले भने, ‘फिल्म हेर्दा दर्शकहरूले आफ्नै कथा पाउनु हुनेछ। यसर्थमा यो फिल्म समाजको ऐना हो ।’ यस्तै, अभिनेत्री लामिछानेले पनि फिल्मको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । फिल्ममा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दावी छ । सबिन श्रेष्ठले भने यो फिल्म आफ्नो कमब्याक हुन सक्ने बताए । ‘म’मा दर्शकले आफूलाई फरक रूपमा देख्न पाउने उनको भनाइ छ ।
यस्तै, निराजन प्रधान र रुविना थापाले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न लागेको बताए । रुविनाको यो तेस्रो फिल्म हो भने निराजनले यही फिल्मबाट लिड नायकको रूपमा डेब्यू गर्दै छन् । निर्देशक सुवर्ण थापाको ‘सुनगाभा’ले समीक्षकबाट प्रशंसा पाएको थियो । ‘म’ अघि उनले ‘राधा’ फिल्मको छायाँकन सकाएका छन् ।