काठमाडौं – साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंका विरुद्ध सानदार जित हात पारेको छ । बंगलादेशको ढाकामा नेपालले बुधबार श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।
ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरिन् । खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाईन् । प्रिती राईको पासमा रश्मीले पेनाल्टी एरियाको बाहिरबाट गोल गरिन् ।
सातौं मिनेटमा सबिताले गोल गर्दा नेपालको अग्रता २–० को बन्यो । रश्मीको फ्री–किकमा सबिताले सहजै गोल गरिन् । खेलको ४३ औं मिनेटमा मेनुकाले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन् । सबिताको क्रसमा उनले गोल गरेकी हुन् ।
खेलको ४८ औं मिनेटमा सलोनी राना मगरको क्रसमा रजनीले गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाईन् । खेलको ५३ औं मिनेटमा सलोनीले गोल गर्दा नेपालको अग्रता ५–० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाईन् । यस जितसँगै जारी च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकाको यो लगातार तेस्रो हार हो । पुछारको श्रीलंका अंक विहीन रहेको छ । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।