काठमाडौं — नेपाली फिल्म ‘गोर्खा वारियर–२’ का अभिनेता रितेश चाम्स गम्भीर घाइते भएका छन् । यो चलचित्रको छायाँकनको क्रममा भिरबाट लडेर उनी घाईते भएका हुन् । उनको सिन्धुलीस्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भइरहेको चलचित्रका निर्माता एवं निर्देशक मिलन चाम्सले बताए । यो चलचित्रको २० दिनदेखि सिन्धुलीको कमलामाई क्षेत्रमा छायाँकन भइरहेको थियो । रितेशको घाँटीमो गम्भिर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको निर्माता चाम्सले जानकारी गराएका छन् ।
घटनाबारे निर्देशक चाम्सले भने, ‘चलचित्रको छायाँकनको क्रममा बुधबार बिहान अभिनेता रितेश भिरबाट झर्दै तल गहिरोमा पुगेर आक्रमण गर्नु पर्ने दृश्य थियो । सो क्रममा असन्तुलित भएर उनी भिरबाट लडेपछि रुखमा ठोकिँदै तल जमिनमा गएर बजारिँदा गम्भिर चोटलागेको हो ।’ अभिनेता रितेशको घाँटीमा गम्भिर चोट लागेकाले उनलाई कम्तिमा १० दिनसम्म पूर्ण आरामसहित उपचार गर्न चिकित्सकले सल्लाह दिएको पनि निर्देशक चाम्सले बताए ।
निकै जोखिम दुश्य भएकाले स्टन्ट म्यानबाट त्यो दृश्य गर्नु पर्नेमा रितेशले आफैं गर्छु भन्ने हिम्मत जुटाएका थिए । तर, असन्तुलित हुँदा उनी भिरबाट लडेको निर्देशक चाम्सले जानकारी गराए । ‘गोर्खा वारियर–२’को बाँकी छायाँकन सिन्धुलीमा ९ मंसिरबाट सुरु भएको हो । यो चलचित्रमा रितेश चाम्ससँगै, बिजय लामा, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीलगायतका कलाकारको अभिनय रहने छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रूपमा सुरेश राई छन् । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ ।