काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी गराएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताए । उनकाअनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ ।
उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रूपमा तयारी गरिसकेको जानकारी दिए । ‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ,’ मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।’ नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ ।
त्यस्तै हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म सातवटा गाउँपालिकामा एक सय खोप केन्द्रमार्फत दिइने छ । खोपसहित स्वास्थ्यकर्मी चाँडै परिचालन गरिने उनको भनाइ छ । खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँ–गाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ ।
उक्त खोपको दोस्रो मात्रा आगामी माघ २ देखि १२ गतेसम्म सम्बन्धित खोप केन्द्रमा लगाइने भएको छ । हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिनाइ हुने भएपछि नाम्खा गाउँपालिकाको वडा नं ४, ५ र ६ का बालबालिकालाई भने हाललाई नलगाइने भएको छ । ती वडाका बालबालिकालाई हिउँदयाम सकिएपछि खोप लगाइने कार्यालयले जनाएको छ ।