काठमाडौं — बलिउड अभिनेता शाहरूख खान आफ्नो अलग अभिनय क्षमताले स्थापित मानिन्छन् । उनी आफ्नो मिजासिलो र रमाइलो स्वभावका कारण पनि चिनिन्छन् । आफूबारे गरिने मजाकलाई उनी सहज रूपमा लिन सक्छन् । तर यसपटक भने उनले आफ्नो स्वभावलाई टिकाउन सकेनन् ।
कोइमोइका अनुसार इजिप्टका एक कमेडियन तथा प्रेन्कस्टारले मजाकको हद पार गरेपछि शाहरूखले उनलाई पिट्ने खोजे । ‘रामेज अन्डरग्राउन्ड’ कार्यक्रम चलाउने प्रेन्कस्टार रामेज गलालले शाहरूखमाथि गरेको फ्यांकस्टार निकै डरलाग्दो हुँदै गएपछि उनले आफ्नो होस गुमाएका थिए । सो भिडिओमा प्रेन्क चलिरहेको थियो जसबारे शाहरूखबाहेक सबैलाई जानकारी थियो। भिडिओमा शाहरूख अन्तार्वार्ता सकाएर गाडीमा दुबईको मरुभूमितिर लागेको देखिन्छन् । एकाएक उनको गाडी मरुभूमिको बीचमा रोकिन्छ ।
उनका ड्राइभर बाटो हराएजस्तो नाटक गरेर माटोका दलदलमा फसेको बताउँछन् । त्यतितिखेर शाहरूख निकै डराएका देखिन्थे । उनी आत्तिएका हुन्छन्, तैपनि अरुलाई उद्दार गर्न खोजिरहेका थिए ।
त्यसैबीच प्र्यांकस्टार रामेज डरलाग्दो लुगामा आएर तर्साउन खोज्छन् । अवस्था झनै गम्भीर हुन थालेपछि रामेजले आफ्नो पहिचान खुलाए र यी सबै केबल प्रेन्क रहेको बताए । रामेजको कुरा सुनेर शाहरूखको निकै रिसाए ।
उनले ती प्रेन्कस्टारलाई गाली गर्दै पिट्नसमेत खोजे । उनले भनेका थिए, ‘यति गर्न तिमीहरूले मलाई भारतदेखि यहाँ बोलाएको ?’ शाहरूखको रिस देखेर रामेज पनि डराए । शाहरूखको खुट्टा छुँदै माफी माग्न थाले । यता शाहरूख भने उनलाई घिसार्दै दलदलतिर लगिरहेका थिए । रामेज गलाल ठूला सेलिब्रेटीलाई प्रेन्क गरेकै कारण चर्चित छन् । उनले यसअघि हलिउडका कलाकार पेरिस हिल्टन, स्टिभेन सिगल र एन्टोनियो ब्यान्डेरासलाई समेत प्रेन्क गरिसकेका छन् । शाहरूखसँग गरिएको प्रेन्क भिडियोमा गम्भीर देखिएपछि रामेजले आफ्नो ट्विटरमा उनीसँगको सेल्फी पोस्ट गरेका थिए । यसपछि कयौँले सो प्रेन्क नाटक रहेको अनुमान गरेका थिए । अल–आलम अखबारका अनुसार रामेजको प्रेन्कमा उपस्थित भएबापत शाहरूखले दुई करोड भारु रकम पाएका थिए ।