काठमाडौं– अस्वस्थ्य खानपान तथा शारिरीक व्यायामको कमीका कारण पछिल्लो समय मुटु रोगीको संख्या बढिरहेको छ । कम उमेरका बालबालिका तथा वयस्क व्यक्तिहरूमा समेत मुटुसम्बन्धी समस्या जटिल रूपमा देखा परेको छ । मुटुसम्बन्धी समस्याको उपचारका लागि अस्पताल पुग्नेको संख्या बढिरहेको सन्दर्भमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विभिन्न उमेर समूहका व्यक्तिहरूको मुटुका स्क्रिनिङ (परीक्षण) थालेको छ ।
केहीसमय पहिले खेलाडीहरूको मुटुको परीक्षण गरेको केन्द्रले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्रका बालबालिकाको निःशुल्क मुटुको परीक्षण गर्ने भएको छ । केन्द्रले बूढानीकलण्ठ नगरपालिका सँगको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने तयारी गरेको हो । चाँडै नै बालबालिकाको मुटुको निःशुल्क परीक्षण अभियान सुरु गर्ने केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिएका छन् । पछिल्लो समय मुटु रोगको समस्याबाट ग्रसित बालबालिकाको संख्या बढ्न थालेपछि केन्द्रले २०० शय्याको बालमुटु शय्या बनाउन थालेको छ । उक्त शय्या बनाउनका लागि डिजाइनको काम सुरु भएर निर्माणको प्रक्रियामा रहेको छ ।
उनका अनुसार बालबालिकामा लाग्ने बाथ मुटुरोग कतिको छ भनेर परीक्षण गर्नका लागि मुटुको स्क्रिनिङ्ग गर्न लागिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत् १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गरिने उनले बताए । ‘बाथमुटुको रोग कति छ भनेर हेर्नका लागि हामीले परीक्षण गर्न तयारी थालेको हौँ’, उनले भने । केन्द्रले आगामी सोमबार यही ६ पुसबाट विद्यालयमा नै गएर बालबालिकाको मुटुको परीक्षण गर्ने तयारी गरेको छ । बालबालिकाको मुटुको परीक्षणका लागि चिकित्सकहरूको टोली विद्यालयमा नै पुग्ने उनले बताए कार्यकारी निर्देशक अधिकारीले बालबालिकामा बाथ मुटुरोगको समस्या देखिने भएकाले स्क्रिनिङ् गर्न थालिएको बताएका छन् । सामुदायिक विद्यालयबाट १० हजारको विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उनले बताएका छन् । केन्द्रका मुटुरोग विशेषज्ञ डा.कुन्जन शेर्पाको संयोजकत्वमा १२ जना टोली बनाएर प्रत्येक विद्यालयमा गई विद्यार्थीको मुटुको परीक्षण गरिने छ ।
यसअघि केन्द्रले फुटबल खेलाडीहरूको पनि निःशुल्क मुटुको परीक्षण गरेको थियो । अखिल नेपाल फुटबल महासंघ (एन्फा)सँग मिलेर फुटबलका राष्ट्रिय खेलाडीको मुटुको अवस्थाको परीक्षण गरेको हो । केन्द्रले २०० जना खेलाडीको फुटबल खेल्नुभन्दा अगाडि मुटुको परीक्षण गरेको थियो । त्यसक्रममा दुई जनामा समस्या देखिएको उनले कार्यकारी निर्देशक अधिकारीले जानकारी दिएका छन् ।
‘फुटबल खेल्नुभन्दा अगाडि खेलाडीको मुटुको अवस्था कस्तो छ । खेल्न सक्छन् कि सक्दैनन् भनेर हामीले मुटुको परीक्षण ग¥यौँ’, उनले भने, ‘परीक्षण गर्दा एक जनामा बाथमुटु रोग लागेको र अर्को एक जनाको मुटुमा प्वाल परेको थियो । ती दुई जना उपचारपछि घर फर्किसकेका छन् ।’ दुई जनामध्ये एकजना पुनः फुटबल खेलिरहेका र अर्का एक जना तीन महिनापछि फुटबल खेल्न सक्ने उनले बताए । मुटुको रोगका कारणले खेल्न सक्छ वा सक्दैन भन्ने परीक्षण गरिएको उनले बताए ।