काठमाडौं — चलचित्र निर्माणमा कमी आएपनि म्युजिक भिडियो निर्माण भने बढिरहेको छ । दैनिक दर्जनको हाराहारीमा म्युजिक भिडियो बन्ने गरेको पाइन्छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा दुई सयभन्दा बढी भिडियोमा काम गरिसकेकी मोडल उषा सुवेदी पनि पछिल्लो समय भिडियोमा ब्यस्त बनेकी छन् ।
पहिलोपटक ‘काँकरीको झ्याङैमा लौका फलेको’ गीतको भिडियोबाट अभिनय गरेकी उषालाई त्यो समयमा लागेको थिएन कि आज मोडलिङको क्षेत्रमा यो स्थान हासिल गर्छु भन्ने । स्कुले जीवनदेखि नै चञ्चले उषा गीतसंगीत, भिडियो, नाँचगान भनेपछि हुरुक्कै हुुन्थिन । नुवाकोट, बेलकोटगढी नपा–६ की उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशकी सचिवसमेत हुन् । सानैदेखि जिज्ञासु स्वभाव भएकाले अहिले उषाकोे म्युजिक भिडियोको क्षेत्रमा छुट्टै पहिचान बनाएकी छन् ।
पछिल्लो समय संख्यात्मक हिसाबले भन्दा गुणस्तरीय भिडियोमा काम गर्ने गरेको उनी बताउँछिन् । गीतको अडियो राम्रो हुँदाहुँदै पनि भिडियो राम्रो भएन भने दर्शकको मनमा नबस्न सक्छ । त्यसैले आजभोलि गुणस्तरमा ध्यान दिन खोजेको उनको भनाइ छ । उषाले नेपाली कला क्षेत्रमा कहलिएका सबैजसो पुरुष मोडलसँग काम गरिसकेकीे छन् । काम गर्ने क्रममा उषाको बोल्नेशैली, मिलनसार ब्यवहार, सहयोगी भावनाले धेरैले तारिफ गरेको पाइन्छ । प्रायः महिला कलाकारहरू काम गर्दै जानेक्रममा विभिन्न विवादमा पर्छन् । तर, उनले कुनै नकारात्मक विवादमा पर्न‘परेको छैन । उषा भन्छिन्, ‘मलाई नयाँलाई सहयोग गरौं, ठूलाबाट सिकौं भन्ने लाग्छ ।’
अभिनयमा निखारता, मीठो बोली, मिलनसार आनीबानीका कारण म्युजिक भिडियोको क्षेत्रमा उनको नाम अगाडि आउन थालेको छ । कामको आधारमा विभिन्न संघसंस्थाले आयोजना गर्ने अवार्डबाट समेत अवार्डडेड भइसकेको उनी बताउँछिन् ।