काठमाडौं — नेपालको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा भारत बाधक बनेको छ । लिगका सुरुवाती खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अन्तिम खेलमा भारतसँग १–०ले पराजित बन्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । आइतबार लिगको अन्तिम खेलबाट फाइनल प्रवेशका लागि भारतसँग कम्तीमा बराबरी गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले भारतसँग हार ब्यहोरेपछि फाइनल प्रवेशमा लिगको अन्तिम खेलमा आयोजक बंगलादेश र श्रीलंकाबीचको खेलमा निर्भर हुनुपर्यो ।
आयोजक बंगलादेशले आइतबार भएको खेलमा श्रीलंकालाई १२–० गोल अन्तरले पराजित गरेपछि नेपालको फाइनल प्रवेशको सम्भावना सकिएको हो । ढाकामा भएको खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको खण्डमा नेपाल फाइनल पुग्ने समीकरण थियो । तर, बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गर्यो । श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ । बंगलादेशले ४ खेलमा १० अंक जोड्यो ।
अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ९ अंक जोड्यो । नेपाल तेस्रो स्थानमा रह्यो । नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल आइतबार नै भारतसँग १–० ले पराजित भएको थियो । उक्त हार नै नेपाल बाहिरिनुको मुख्य कारण बन्यो । भारतलाई हराएको वा बराबरीमा रोकिएको खण्डमा नेपाल फाइनल पुग्ने थियो । आइतबार खेलको पहिलो हाफसम्म उत्कृष्ट खेल खेल्दै भारतलाई रोक्न सफल भएको नेपालले ६७ औं मिनेटमा पी नावरेमको निर्णायक गोलबाट हार ब्यहोर्न पुग्यो । भारतले चार मध्ये तीन खेल जित्दै ९ अंक जोडेको छ । यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नजिता निकाल्दै जम्मा सात अंक जोडेको छ ।