काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी १२ माघ हुने निर्वाचनका निर्वाचत अधिकृत नियुक्त गरेको हो । आयोगले मतदान हुने सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई नै निर्वाचन अधिकृतको रूपमा तोकेको जनाएको छ ।
आयोगका अनुसार निर्वाचन अधिकृतमा प्रदेश १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, वाग्मती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको छ । त्यस्तै, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री श्रीकृष्ण भटृराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुलाई निर्वाचन अधिकृतको रूपमा काम गर्ने गरी तोकिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिएका छन् । यही १२ पुसदेखि निर्वाचन अधिकृतको रूपमा कार्य गर्ने गरी जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार २० पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने छ । त्यसै दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचको कार्यक्रम भने १७ पुसबाटै सुरु हुनेछ । सो दिन मतदाताहरूको नामावली प्रकाशित हुने छ । नामावलीमा कुनै त्रुटी भए सच्याउने र उजुरी दिनका लागि १८ र १९ पुसमा तोकिएको छ ।
१२ माघमा राष्ट्रियसभाका एकतिहाइ सांसद निर्वाचित गर्न मतदान हुँदैछ । १९ जना नयाँ सांसद निर्वाचित गर्नका लागि मतदान हुन लागेको हो । प्रदेससभा सदस्य र स्थानीत तहका प्रमुख तथा उप प्रमुखले मतदान गर्ने छन् । यसपटकको निर्वाचनमा पनि सत्तारुढ पाँच दलीय गठबन्धनले साझा उम्मेदवारी सहमति गरिसकेका छन् । नेकपा एमालेले अन्य साना दलसँग तालमेल गर्न सक्ने संभावना छ । यसअघिको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए ।
त्यस्तै, आयोगले २० माघ ०७३ भन्दा अघि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने उल्लेख गरेको छ । त्यस्ता व्यक्तिको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगानामा भएको स्थानीय तहको वडामा सार्ने सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।