काठमाडौं — बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पनामा पेपर्समा संलग्नता रहेको आशंकामा बयान लिइएको छ । भारतीय दैनिक पत्रिका ‘टाइम्स अफ इन्डिया’का अनुसार सन् १९९९ को विदेशी विनिमय व्यवस्थापन ऐनअन्तर्गत विदेशमा सम्पत्ति लुकाएको आरोपमा ऐश्वर्याको बयान लिइएको हो । यस प्रकरणमा उनलाई सोमबार ईडी (प्रवर्तन निर्देशनालय)मा हाजिर हुन भनिएको थियो । यसका लागि उनी ईडीको मुख्य कार्यालय जामनगर हाउसमा उपस्थित भएकी थिइन् ।
पूर्वमि विल्र्डसमेत रहेकी ऐश्वर्यासँग प्रवर्तन निर्देशालय (ईडी)ले सोमबार झण्डै सात घण्टासम्म सोधपुछ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक रिपोर्टका अनुसार सोधपुछ क्रममा ऐश्वर्यालाई एजेन्सीले विभिन्न प्रश्न सोधेका थिए । जसमा उनलाई सुरुमै सोधेका थिए, ‘अमिक पार्टनर्स सन् २००५ मा ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको कम्पनी थियो । यो कम्पनीसँग तपाईंको कस्तो सम्बन्ध छ ?’
ऐश्वर्याले चित्त बुझ्दो जवाफ नदिएपछि अर्को प्रश्न सोधिएको थियो, ‘मोस्साक फोन्सेका कम्पनी दर्ता भएको कानूनी फर्मबारे तपाईंलाई के थाहा छ ?’ यस्तै, यस कम्पनीका निर्देशकहरूमा तपाईं, तपाईंको बुबा कृष्णराज राय, आमा कविता राय र भाइ आदित्य राय छन्। यसबारे तपाईं के भन्न सक्नुहुन्छ ?’ भनेर पनि सोधेका थिए । ऐश्वर्यामाथि अर्को प्रश्न सोधिएको थियो, ‘कम्पनीको प्रारम्भिक चुक्ता पुँजी पचास हजार अमेरिकी डलर छ । प्रत्येक सेयरको मूल्य एक रूपैंया अमेरिकी डलर थियो, र प्रत्येक निर्देशकसँग बाह्र हजार पाँच सय सेयर थियो। सञ्चालकको हैसियतबाट तपाईं किन सेयर धनी बन्नु भयो ?’
उनलाई ‘वित्तीय लेनदेनको लागि आरबीआईसँग अनुमति मागिएको थियो ?’ प्रश्न सोधिएको थियो । ‘द पनामा पेपर्स’ सन् २०१६ मा लाखौं कागजात चोरी भएर मिडियामा सार्वजनिक भएको ठूलो मुद्दा हो। यो मुद्दामा विश्वका धनी र शक्तिशाली व्यक्ति तथा कर्पोरेट संस्थाले कर छली गर्न वा सेल कम्पनीहरू स्थापना गरेको आरोप छ । ऐश्वर्याको नाम यही पेपर्समा भएको पाँच सय जना भारतीयको सूचीमा समावेश छ । तिनका गोप्य कारोबारको पर्दाफास गर्ने ११ मिलियन अमेरिकी डलर कर कागजातको ठूलो लिकमा उनको नाम पनि थियो ।