काठमाडौं – नेपालको महिला भलिबल टोली बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०,२५–२३ र २५–१४ को जित निकाल्यो ।
नेपालको यो लगातार चौंथो जित हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो । नेपालले ४ खेलमा ११ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।