काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
सारजाह क्रिकेट मैदानमा श्रीलंकाले दिएको ३ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४७ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६२ रनमा समेटियो ।
नेपालका लागि अर्जुन साउदले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बसिर अहमेदले ४३ रन जोड्दा विवेक यादवले ४६ रन बनाए । सन्तोष कार्की ३४ रनमा आउट हुँदा कप्तान देव खनालले २८ रन बनाए । गुलशन झा १३ रनमा आउट भए । श्रीलंकाका रभिन डी सिल्भा र मथिसा पाथिरानाले ३/३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।
श्रीलंकाका लागि सदिशा राजपाक्षेले १ सय ३१ रनको शतकीय इनिङ्सको योगदान गरे । यस्तै चामिन्दु विक्रमासिंगेले १ सय ११ रनको शतकीय इनिङ्स खेले । कप्तान दुनिथ वेलालागेले अविजित ३४ रन जोड्दा शेभोन डानिलले १७ रन बनाए । नेपालका आदील आलमले २ तथा देव खनाल र विवेक यादवले १÷१ विकेट लिए । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध मंगलबार खेल्नेछ ।
यस जितपछि समूह बीको श्रीलंकाले २ खेलमा ४ अंक जोडेको छ । श्रीलंका दोस्रो स्थानमा रहेको छ । नेपाल अंकविहीन रहँदै पुछारमा रहेको छ । पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो । बंगलादेश र श्रीलंका भने सेमिफाइनलमा प्रवेश गरेको छ ।