नेपालगञ्ज/जवाफदेहिताका लागि आर्थिक पारदर्शिता बारे मंसिर २५ गते नेपालगञ्जमा छलफल गरिएकोछ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १२ का जनप्रतिनिधि र स्थानीय बिच वडाको बजेट र बिकास निर्माण बारे छलफल गरिएको हो ।
बास र एकाउण्टेविलिटि ल्यावद्धारा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत उक्त छलफल गरिएको हो ।
स्थानीय तहको निर्वाचन भए पश्चात स्थानीय नागरिकहरु र जनप्रतिनिधिहरु एउटै थलोमा उपस्थित भई पहिलो पटक दोहोरो सम्बाद भएकोमा सहभागिहरुले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमा वडा नम्वर १२ का वडा प्रमुख बुद्धिसागर सुबेदीले वडावासीहरु मझ वडाको बजेट सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुबेदीले आफ्नो कार्यकाल भित्र वडालाई नमूना बनाउने बताए ।
कार्यक्रमका सहभागिहरुले वडाबाट प्रदान भईरहेको सेवासुविधा बारे आफ्नो अभिमत राखेका थिए । स्थानीय राम प्रसाद शर्माले वडा कार्यालयबाट नाला नबनाई सडक बनाउनुको औचित्य नभएको बताए । स्थानीय बसन्ती उपाध्यायले अघिल्लो बर्ष वडानम्वर १२ मा निर्माण गरिएको स्वास्थ्यचौकी भवनमा अनियमितता भएको आशँका गरिन् ।
वडानम्वर १२ को नयाँ बस्तिका गीता शाही र आनन्द अधिकारीले सडक निर्माण नहुँदा बर्षातमा हिँडडुल गर्न असहज हुने गरेको गुनासो गर्दै सडक निर्माणका लागि वडासँग माग राख्दा वडाले सुनुवाई नगरेको गुनासो गरेका थिए । उक्त गुनासोलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुवेदीले धेरै मागहरु वडावासीबाट आउँदा उक्त माग सम्बोधन हुन नसकेको उल्लेख गर्दै सम्पूरक कोषबाट उक्त सडकका लागि १ लाख रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित हौसिलाल चिडिमारले आफुहरु जनजाती हुँदाहुँदै आफुहरुलाई सरकारले दलितको सूचिमा राखेको भन्दै गुनासो गरे । स्थानीय ईता अर्याल र डम्वर सुवेदीले वडाबाट राम्रो काम भईरहेको भन्दै वडाका प्रतिनिधिहरुको प्रशंसा गरे ।
कार्यक्रममा स्थानीय जनक भण्डारी, सरिता खड्का, वडा सदस्य दिनेश पन्त लगाएतले बोलेका थिए । परियोजना संयोजक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा अमेरीकी दुतावासकी प्रवक्ता एण्ड्रि डि आर्मेन्ट, सञ्चार संयोजक अपार पौडेलले बोलेका थिए । प्रबक्ता एण्ड्रिले पारदर्शितानैं स्थानीय तहको सफलता भएको बताईन् ।
यसैगरी प्रबक्ता एण्ड्रिले बासको कार्यालयमा पदाधिकारी तथा कर्मचारीहरुसँग छलफल गरेकिछिन् । कार्यालयमा भएको छलफलमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले बासले सुशासनका लागि गरिरहेको कार्यक्रमबारे जानकारी गराएका थिए ।