काठमाडौं — नेपालबाट प्रकाशित हुने ललित म्यागेजिन र प्रोफेसर तथा लेखक सम्राट उपाध्यायको पहलमा विगत पाँच वर्षदेखि भइरहेको अंग्रेजी ‘सर्ट स्टोरी’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । मंगलबार प्रतिस्पर्धामा पुरस्कृत प्रथम, द्वितीय र तृतीय हुने कथालाई क्रमशः २०, १५ र १० हजार प्रदान गरिएको हो । प्रथम पूजा पौडेल, द्वितीय रितु राजवंशी र तृतीय दुई जना सदिश ढकाल र अल्फा शाक्यका कथाहरू ललित म्यागाजिनमा प्रकाशन गरिने बताइएको छ ।
ललित म्यागेजिनले यस वर्ष कथा बुझाउने मिति २०२१ अक्टोबर १५ तोकेको थियो। प्रतियोगितामा १ सय ७५ वटा कथाहरू प्राप्त भएको थिए जसमध्ये ४६ वटा कथा लेखक उपाध्यायलाई पठाइएको थियो ।
सोहीमध्ये सात वटा उत्कृष्ट कथा छानिएको र तीमध्ये तीनवटा पुरस्कृत भएका थिए । पुरस्कृत कथाहरूको छनोट लेखक उपाध्यायले गरेका थिए । उपाध्याय अमेरिकाको इन्डियाना युनिभर्सिटी ब्लुमिङटनका डिस्टिङ्ग्युस्ड प्रोफेसर हुन् । पुरस्कारको राशी लेखक उपाध्याय र इन्डियाना युनिभर्सिटीद्वारा प्रायोजित गरिएको हो ।
सर्ट स्टोरी प्रतियोगिताको उद्देश्य, नेपाल र नेपालबाहिर बसोबास गर्ने नेपालीलाई अंग्रेजी भाषामा कथा लेख्न प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको आयोजकको भनाइ छ । काठमाडौं गेस्ट हाउसले तीन वर्षअघि गेस्ट हाउसको ठमेलस्थित ड्रिम गार्डेनमा ‘वाक अफ फेम’ स्टोन राखिएको थियो । सोही समयमा, काठमाडौं गेस्ट हाउसले लेखक सम्राट उपाध्यायको नाममा आफ्नो होटेलको एउटा कोठा पनि ‘डेडिकेट’ गरेको थियो ।