काठमाडौं — चर्चित र्यापर आशिष राना उर्फ लाहुरे पक्राउ परेका छन् । उनलाई ब्राउन सुगर सेवन गरेको आरोपमा पोखरामा प्रहरीले पक्राउ गरेको हो । नेपाली युवामाझ उनी ‘लाउरे’ नामले परिचित छन् । उनका लाखौँ युवा फ्यान छन् ।
पछिल्लो समय डिमाण्डेड र्यापरका रूपमा चिनिने लाहुरेलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए । उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी बुधबार बेलुका पक्राउ परेका हुन् । एसपी थापाका अनुसार लाउरेलाई लागु औषध ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ गरिएको हो ।
‘लाउरे भन्ने आशिष रानालाई हामीले लागु औषधको मुद्दामा ल्याएका छौंँ’ एसपी थापाले भने, ‘अनुसन्धानको क्रममा छ ।’ तर, लाहुरेको साथबाट लागू औषध भने नभेटिएको प्रहरीले जनाएको छ । उनीसँगै अरू चार जना पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । पक्राउ परेका अरूबाट ब्राउन सुगर पनि बरामद गरेको एसपी थापाले बताए । उनका अनुसार लाउरेसँग भने ब्राउन सुगर भेटिएको छैन । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।