लमजुङ– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशको सेवामा नलाग्नेलाई आफ्नो पार्टीमा ठाउँ नरहेको बताएका छन् । शनिबार लमजुङ बेँसीशहर नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी लमजुङद्वारा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनता र देशको सेवा लाग्ने आफ्नो पार्टी भएकाले देशको सेवामा नलाग्नेलाई आफुहरूले वास्ता नगर्ने बताए ।
उनले सबैको सुरक्षा गर्ने एकीकृत समाजवादी पार्टीले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताए । त्यस्तै नेता नेपालले आगामी चुनावसम्मै गठबन्धन सरकार अघि बढ्ने बताए । मुलुक समृद्ध बनाउनका लागि आफ्नो पार्टी समाजवाद लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले जनताको जीवन खुशी र सुखी बनाउने लक्ष्यका चाँडै पूरा हुने दाबी गरे । उनले असल भावनासहित समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले आधुनिक सीप, क्षमता प्रविधिका साथमा सिर्जनात्मक काम गर्ने र अरुले गर्न नसकेको काम गर्ने आफुहरूको लक्ष्य रहेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको सिद्धान्त नै लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने रहेको बताए । संगठन विस्तारमा लागेकाले विचार प्रष्ट पारेर अघि बढ्न कार्यकर्तालाई उनले आग्रह गर्दै एकीकृत समाजवादीले यतिबेला संगठन विस्तारमा जोड दिँदै अघि बढ्ने क्रममा हालसम्म ७६ जिल्लामा र ५०० पालिकामा र छ हजार ७०० वडामा संगठन निर्माण गरिसकेको उनको भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार ‘किसान’ श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवाका लागि सहज वातावतरण र व्यवस्थित बनाउने बताए । उनले रोजगारीको सिलसिलादेखि श्रम रोजगार तथा सामाजिक मन्त्रालयले लमजुङ जिल्लालाई पहिलो प्राथमिकतामा राखेको बताए ।