काठमाडौं– भक्तपुरमा सन् २०२१ मा मानव अधिकार हननका घटनामा वृद्धि भएको देखिएको छ । मानवअधिकार संरक्षणको क्षेत्रमा काम गरिरहेको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकअनुसार सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्मका घटनाको अध्ययन गर्दा सन् २०२० को तुलनामा मानव अधिकार हननका घटना बढेका देखिएको हो ।
गत वर्ष हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायत ३६६ मानव अधिकार हनन एवं ज्यादतिका घटना भएका थिए । इन्सेकको जिल्ला शाखाले संकलन गरेको तथ्यांकमा गत वर्ष सात जनाको हत्या भएको र छ जनाको हत्या प्रयास भएको पाइएको छ । त्यस्तै, बालिका १९ र महिला २४ गरी ४३ जनामाथि बलात्कार भएको र आठ जना बलात्कार प्रयासबाट पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले जानकारी दिएका छन् ।
उनका अनुसार बाल यौन दुव्र्यवहारबाट १०, बहुविवाहबाट ११ महिला पीडित भएका थिए भने मानव बेचबिखनबाट छ, घरेलु हिंसाबाट पाँच, आत्महत्या दुरुत्साहनमा तीन जना पीडित भएका थिए । गत वर्ष ५८ जनाले आत्महत्या गरेका थिए । (प्रशिक्षार्थी पत्रकार)