काठमाडौं — बाफलकी दीक्षा केसीले ‘मिसेस नेपाल वल्र्ड–२०२१’को उपाधि जितेकी छन् । राजधानीमा सम्पन्न विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती
नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिएर दिक्षाले उपाधि जितेकी हुन् ।
यस्तै, दीक्षाले ‘लेडी विथ कम्प्यासन’को उपउपाधि सेमत जितिन् । योसँगै दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने मौका पाएकी छन् । यसै वर्षदेखि मिसेस नेपाल वल्र्डको विजेतालाई मिसेस वल्र्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए ।
सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षेत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईँ निर्णायक थिए ।
प्रतियोगितामा उषा रजक मिसेस नेपाल इन्टरनेसनल भइन् । उनले उपाधिसँगै सिंगापुरमा हुने मिसेस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने मौका पाएकी छन् ।
यस्तै एमएस इन्टरनेसनलको उपाधि जितेकी पविता गिरीले एमएस इन्टरनेसनलमा सहभागिता जनाउने मौका पाउनेछिन् । उषा मस्ट ट्यालेन्टेड र मस्ट बोल्डको विजेतासमेत भइन् । कार्यक्रममा अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो । यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो ।