सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनि प्रदूषण गरेको भन्दै हर्न निषेध अभियान देशैभर चलेकोछ । स्थानीय तह, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र जिल्ला प्रशासनबाट ध्वनि प्रदूषण घटाउनका लागि हर्न बजाउनमा प्रतिबन्ध लगाउन थालिएकोछ । यो असाध्यै सकारात्मक अभियान र कार्य हो । तर बिना तयारी, बिना पूर्वाधार शुरु गरिएको यो अभियान कार्यान्वयनमा आउन भने असहज छ ।
देशैभर हर्न निषेध अभियान चलिरहेका बेला नेपालगञ्जलाई पनि हर्न निषेधित शहरको रुपमा घोषणा गरिएकोछ । बढ्दो सवारी चापका कारण ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्रको रुपमा मंसिर १ गतेदेखि नेपालगञ्जलाई हर्न निषेधित क्षेत्र घोषणा गरियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकाबाट हर्न निषेधित क्षेत्रको औपचारीक सुरुवात गरिएको हो । हर्न निषेधित क्षेत्र कायम भएसँगै मंसिर महिनाभर चालक, परिचालकलगायत सम्बन्धित व्यक्तिहरुलाई हर्न निषेधका विषयमा कार्यक्रम गरेर सचेत गराउने, ‘नो हर्न’ शहर बनाउनका लागि सरोकारवाला निकायबीच छलफल गर्ने, बिभिन्न स्थानहरुमा होर्डिङ्ग बोर्ड राख्ने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकाय सबैसँग छलफल गर्ने र नगरलाई हर्न निषेधित बनाउन अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने योजना ट्राफिकको छ । यति योजनाले मात्रै नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउन सकिने स्थिती छैन ।
सहरलाई ध्वनि प्रदूषणमुक्त बनाउन नो हर्न जोन घोषणा गर्ने अभियान जनहितकारी छ । तर यो सस्तो लोकप्रियताका लागि हुनुहुँदैन । यस भन्दा अघि काठमाण्डौं लगाएतका शहरहरु पूर्वाधारविना घोषणा गरिदाँ कार्यान्वयमा समस्या आई घोषणा, घोषणा मात्र सीमित भएको कहिँकतै छिपेकोछैन । सडकको स्तर उन्नति नहुँदै र आकासे पुलहरु निर्माण नहुँदाका बखत हुने यस्ता घोषणाहरु कार्यान्वयन हुन असहज छ ।
सडकभरि अटो रिक्सा, खाल्डाखुल्डी, अन्धाधुन्ध जताततै सवारी साधन चलाउने सवारी चालकहरुलाई नियमन नगरे सम्म हर्न निषेध अभियान सफल हुने छाँट देखिदैन । ध्वनी प्रदूषणले वातावरण दुषित बनाउँछ यसमा सन्देह छैन तर वान वे नभईसकेको सडक, अटेरी सवारी चालकहरुलाई साईजमा ल्याउन हर्न नबजाउनुको पनि बिकल्प छैन ।
ध्वनी प्रदुषणलाई नियन्त्रण गर्न प्रहरी र स्थानीय तहले गरेको हर्न निषेध निर्णय स्वागत योग्य भए पनि कार्यान्वयन गर्न आवश्यक पूर्वाधार जरुरी छ । तामझामका साथ हर्न निषेधको आरम्भ ठूलो कुरा होईन, यसको कार्यान्वयन ठूलो कुरा हो ।
२०७४ साल वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा सवारी साधन हर्न निषेध गरिएको थियो । नियम लागु भएको केही महिनासम्म सवारी साधनका हर्न कमै सुनिए तर अहिले आएर पहिलेकै स्थितीमा उपत्यका फर्किसकेकोछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा करिब २६ हजार सवारी साधनलाई हर्न बजाएको भन्दै कार्वाही गरिसकेकोछ तथापी हर्न बजिरहेकैछ । ट्राफिक व्यवस्थापनका हिसावले मजवुत मानिने राजधानीमैं हर्न निषेध कार्यान्वयनमा समस्या देखिएका बेला ट्राफिक व्यवस्थापनका हिसावले चौपट मानिने नेपालगञ्ज जस्ता शहरहरुमा यो अभियानलाई सफल पार्न सम्बद्धलाई फलामको च्यूरा चपाउनु सरह हुनेछ ।
चोकचोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाएको, नबजाएको बारे अनुगमन गरि कार्वाही गर्न पनि सजिलो छैन । हर्न बजाउनेहरु बिभिन्न मनोबिज्ञान पालेर हर्न बजाउँछन् । कोही ओभरटेक गर्न, कोही यात्रु बोलाउन, कोही अगाडिको गाडी हटाउन, कोही साना सवारी र युवतीहरुलाई जिस्काउन, रमाइलो गर्ने बहानामा हर्न बजाउँछन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ (ग) अनुसार कसैले आवश्यकता बाहेक सवारी साधनको हर्न बजाएमा पहिलो चरणमा ५ सय, दोस्रो चरणमा १ हजार र तेस्रो चरणमा १५ सय रूपैयाँ जरिवाना हुने प्रावधान छ । एम्बुलेन्स, शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधन बाहेकलाई यो नियम लागू हुन्छ ।
सवारीसाधनको चर्काे ध्वनिले मानिसको श्रवण शक्ति नै गुम्न सक्छ । चर्काे ध्वनिले कानको सुन्ने अंगको कोष नष्ट हुने र रासायनिक प्रतिक्रिया भई पछि बहिरो हुने खतरा उच्च हुन्छ, त्यसैले चर्काे ध्वनिबाट टाढै रहनुपर्छ, नत्र स्वास्थ्यमा नै गम्भीर समस्या देखापर्न सक्छ । यो यथार्थ कुरा हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १ अर्ब २ करोड युवा ध्वनि प्रदूषणको जोखिममा छन् । चर्को ध्वनिका कारण सुरुमा कान बज्ने, दिक्दारी लाग्ने, निद्रा नलाग्नेजस्ता समस्या देखिन्छन् । ८० डेसिमलभन्दा माथिको ध्वनिले कानमा असर पार्छ । सामान्य बोलीचालीको ध्वनि औसत ४० डेसिमलको हुन्छ । चर्को ध्वनिले आवाज सुन्ने अर्गान (ककलिया) का कोष नष्ट गरी कम सुन्ने समस्या आउँछ । अडियोग्राम परीक्षणले श्रवण क्षमता कम भएको पत्ता लगाउन सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय मान्यताअनुसार ७० देखि ८० डेसिमलको हर्नलाई सामान्य माने पनि हाम्रो सडकमा गुड्ने सवारी साधनहरुले १ सयदेखि १ सय २० डेसिमलसम्म ध्वनि निकाल्ने गरेका छन् । अतः चर्काे ध्वनि कसैको हितमा हुँदैन, यसको नियन्त्रणको बिकल्प छैन । नियन्त्रणको एक मात्र बिकल्प हर्न निषेधनै हो । तर हर्न निषेधका लागि व्यापक तयारी, छलफल, अभ्यास र प्रचार, प्रसार हुन जरुरी छ ।
सवारी साधनले एउटा मोडबाट अर्काे मोड नदेखिने अवस्थामा र हर्न नबजाउँदा सवारी दुर्घटना हुने उच्च जोखिम भएमा हर्न बजाउन दिनुपर्दछ । यस बाहेक हर्न बजाउने सवारीसाधनलाई कारबाही गर्नुपर्दछ । हर्न नै बजाउनुनपर्ने गरी सडकका पूर्वाधार बनाउन जरुरीछ । पालो पर्खिने संस्कार नभए सम्म, बाटोको यत्रतत्र पार्किंग गर्ने, बाटो काट्ने संस्कारको अन्त्य नभए सम्म हर्न नबजाउ भन्नु चालकलाई कारबाही गर्नुजस्तै हो । सडक भरी पशु चौपाय छन्, अन्धाधुन्ध जताबाट पायो त्यतैबाट बाटो काट्ने पैदल यात्रु र सवारी चालकहरुको बिगबिगि छ । सडकमैं बसेर गफगाफ गर्ने, सडकमैं पार्किंग गर्ने मनोबृत्ति छ यस्तो अवस्थामा हर्न नबजाएर के गर्ने ? हो कोही रहरले हर्न बजाउलान्, कोही अराजकता फैलाउन आत्मरतिका लागि हर्न बजाउलान् तर कोही त आवश्यक भएर हर्न बजाउलान् । यि सबैलाई एउटै डालोमा हालेर न्याय होला र ? पक्कै पनि हुदैन ।
ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको राम्रो प्रबन्ध नमिलाईकन हर्न निषेध सम्भव छैन । पैदल यात्रु हर्ने फुटपाथको व्यवस्थापन, छाडा चौपायको नियन्त्रण, सडक कव्जा गरे रोकिने गाडीहरुको मनोमानी अन्त्य भएमा मात्र यो अभियान सफल हुन्छ । यो अभियानलाई सफल पार्नका लागि व्यापक प्रचार, प्रसार, सचेतनाका कार्यक्रमहरु गर्न जरुरी छ । हर्न बजाउन बाध्य पार्ने तत्वहरुको पहिचान गरि कार्वाही गर्न जरुरी छ । सवारी चालक अनुमति पत्र लगाएतका कागजातहरु हेर्ने काममा मात्र सिमित रहेको ट्राफिकको भूमिका बढ्न जरुरी छ । सडकको सुधार, व्यवस्थापन दिर्घकालिन कुरा होला तर सडक, फुटपाथ अतिक्रमण हटाउन भने तत्काल ध्यान दिनु पर्दछ । साँघुरा गल्लिहरुमा तीन पाँग्रे निषेध गर्ने, वान वे क्षेत्र तोक्ने कार्य गर्न सकिएमा यो अभियान सफल हुन सक्छ । त्यस्तै यसका लागि व्यापक साझेदारीको अवधारणालाई लागु गर्न जरुरी छ ।
अर्काे तर्फ योजनाबद्ध ढँगले अघि बढ्न जरुरी छ । सचेतना, प्रचार, प्रसारका साथै निषेधित क्षेत्रहरु तोकि बिस्तारै दायराहरु बढाउँदै कार्वाही सम्मको कार्य गर्न सकियो भने यो अभियान सफल हुन सक्दछ । धेरै अभियानहरु चर्चामा आउनका लागि हुन्छन् । यो अभियान त्यस्तो हुन नदिनका लागि निरन्तरता, समन्वय एकदमै हुन जरुरी छ । साथै यसका लागि ट्राफिक नियमको पालना तर्फ जोडतोडका साथ लाग्नै पर्ने हुन्छ ।
यात्रुहरुले बाटो काट्ने, यात्रु बोक्ने, ओराल्ने, सवारी साधन पार्किंग गर्ने ठाउँहरु तोकिनुका साथै तिब्र गतिमा कुद्ने सवारीहरुको नियन्त्रण, क्षमता भन्दा बढि यात्रु बोक्नेहरुलाई कार्वाही, चर्काे आवाज निकाल्ने मोटरशाईकल, गाडीहरुको नियमन, मोडिफाई गरिएका बाईकहरु माथिको प्रतिबन्ध तत्काल लगाउन सकिएको खण्डमा यो अभियान सफल हुनेछ । यसतर्फ सम्बद्ध सबैको ध्यान जान जरुरी छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०७५ १६:३५