काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (बुस्टर डोज) मात्रा खोप दिने भएको छ । कोरोना संक्रमण दर बढिरहेका बेला सरकारले यसको रोकथामका लागि सरकारले खोपको तेस्रो मात्रा दिन लागेका थिए । मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिएका छन् । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्नका लागि खोपको बुस्टर डोज प्रभावकारी हुने अध्ययनले देखाएको छ । निकै संक्रमक ओमिक्रोनबाट बच्नका लागि विश्वभर खोपको तेस्रो मात्रा लगाउने अभियान नै थालिएको छ । सोहीअनुसार नेपालमा पनि खोपको तेस्रो मात्रा लगाउने तयारी गरिएको हो ।
सचिव डा. पोखरेलले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने थालेको बताएका छन् । नेपालमा अहिले कूल परीक्षण गराएकामध्ये कोभिड–१९ संक्रमण ८.४९ प्रतिशतमा देखिएको छ । शुक्रबार मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा संक्रमण देखिएको थियो । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । शुक्रबार २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो ।
यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो । मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।
यस्तै, मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपङ्क्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाएको छ । अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ ।
काठमाडौंमा ६३ प्रतिशतलाई पूर्ण खोप
त्यस्तै, काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ ।
कामपा जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दुवै मात्रा लगाउनु पर्ने लक्षित समूहका लागि पनि खोप कार्यक्रम तीव्र रूपमा अघि बढाइएको छ । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित समूहका छन् । अहिले कामपाको ३२ मध्ये ११ स्थानबाट खोप कार्यक्रम दैनिक रूपमा नै सञ्चालन भइरहेको छ भने काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य चार नाकामा पनि स्वास्थ्य टोली खटाएर खोप कार्यक्रम सञ्चालन भइरहेको कामपाले जनाएको छ ।
पछिल्लो समय हरेक दिन कोरोना भाइरस संक्रमण बढिरहेको छ, विश्वका अन्य मुलुक र छिमेकी देश भारतमा पनि प्रतिदिन कारोना संक्रमित र मृतकको सङ्ख्या बढिरहेकाले यसबाट हुने मानवीय क्षति कम गर्नका लागि पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने कुँवरको भनाइ छ । अहिले देशको कुल जनसंख्याको ३५ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ४८ दशमलव ५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।