काठमाडौं — फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल निर्माण हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् । फिल्मको सिक्वेलको बिषयमा उनले लेखकसमेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेको बताएका छन् । कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर उनीहरूबीच छलफल भइरहेको हो ।
‘पशुपति प्रसाद’ दर्शक तथा समीक्षा सबैले रुचाएको फिल्म हो । फिल्मको छाप दर्शकको मनमा बस्न सफल भएकाले सिरिज बनाउन दीपेन्द्र जुटेका हुन् । हालै राजधानीमा आयोजिक एक कार्यक्रममा फिल्मको सिक्वेल बनाउनेबारे उनले जानकारी दिएका थिए । उनले भने, ‘म जहाँ जान्छु ‘पशुपति प्रसाद’ को सिक्वेलको कुरा उठ्ने गरेको छ । मलाई पनि बनाउन मन छ । तर आँट आइरहेको छैन ।’ उनले कोरोनाले चुनौतीपूर्ण अवस्थामा फिल्म क्षेत्र रहेको बेला ‘पशुपति प्रसाद’ फेरि बनाउनुपर्छ कि भन्नेचाहिँ लागेको सुनाए ।
दीपेन्द्रले पछिल्लो समय निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ आउँदो बैशाख ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । ‘पशुपति प्रसाद’का लेखक पनि खगेन्द्र हुन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, सजन राई, विभु विप्सन लगायतले मुख्य भूमिका रहेको थियो ।