तनहुँ – तनहुँको ऋषिङ गाउँपालिकाले मंगलबार आयोजना गरेको दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि तीर्थराज तामाङले जितेका छन्। ४२ किमी दूरीको म्याराथन दुई घण्टा ५१ मिनेट २५ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका तामाङले म्याराथनको उपाधि जितेका हुन् ।
प्रतियोगितामा देवराज महतारा द्वितीय भएका छन् । उनले उक्त दूरी दुई घण्टा ५४ मिनेट २५ सेकेन्डमा पूरा गरे । प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेन्डमा पार गरे । सान्त्वना भएका तेह्रथुमका प्रताप खड्काले उक्त दूरी तीन घन्टा १० मिनेट ४५ सेकेन्डमा पार गरे । खुल्लातर्फको म्याराथनमा ४९ धावकको सहभागिता थियो ।
धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो ।
खुल्लातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुनेलाई रु १० हजार प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । महिलातर्फको चार किमी दौडमा सीता रानाभाट प्रथम, यमुना थापा द्वितीय, सुस्मिता रानाभाट तृतीय र विष्णु परियार सान्त्वना भएका छन् । महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिएको छ ।